माघ ११,धनगढी : धनगढीको फाप्लामा जारी प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोर चरण अन्तरगतको चौथो खेलमा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमको जीतमा अनुभवी खेलाडी रितु कनौजियाले अलराउण्ड प्रर्दशन गरीन । उनले ब्याटिङ त तर्फ ३४ रनको अविजित पारी खेलिन भने बलिङ तर्फ एक महत्वपूर्ण विकेट चट्काइन । उनी म्यान अफ दी म्याच पनि चुनिइन ।

त्यस्तै मनिषा बोहराले १६ रन जोडिन्। सुदूरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले ३र३ र विपिशा शाहीले १ विकेट हात पारिन्। जितका लागि पाएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९।४ ओभरमा ८२ रनमा अलआउट भयो । बाग्मतीका लागि यसोदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिश्मा थापाले २र२ र रितु कनौजिया र आशिका महराले १र१ विकेट हात पारिन्। यो हारले बाग्मती प्रतियोगिताबाट बाहिरिएको छ। फाइनल पुगेको सुदूरपश्चिमले एपीएफसंगको भेट पक्का गरेको छ।

यसअघि आजै भएको अर्को सुपर फोरको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको छ। उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ। माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतियोगिताको उपाधि जित्नेले ५ लाख, दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५र२५ हजार पुरस्कार दिइनेछ । फाइनल समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?