फाल्गुन २२,धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ। विहिबार सम्पन्न फाइनल भिडन्तमा बैतडीमाथि ३ विकेटको जित निकाल्दै कैलाली च्याम्पियन बन्यो। कैलालीले पछिल्ला तीन संस्करणमा लगातार जीत दर्ता गर्दै ह्याट्रिक जीत निकालेर इतिहाँस रचेको छ ।
गत वर्ष पनि बैतडीलाई हराएर कैलालीले उपाधि जितेको थियो। बैतडीले दिएको १७० रनको लक्ष्य कैलालीले ४५.५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। जसमा निश्चल क्षेत्रीले अविजित ७७,आयुव चन्दले ३२ र शेर मल्लले नटआउट १९ रनको योगदान गरे। बलिङमा बैतडीका गजेन्द्र बोहरा र हिक्मत महराले ३/३ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३७।२ ओभरमा १६९ रनमा समेटियो। बैतडीका लागि सुमित बुडालले ५३,लोकेश चन्दले ४१ रन बनाए।
कैलालीका कप्तान नारायण जोशीले ४,शेर मल्लले ३ विकेट झारे। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागीता रहेको थियो।
यो छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट संघका मुख्य छनौटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फागुन २५ देखि हुँदैछ ।