माघ ३०,धनगढी : कैलालाी बहुमुखी क्याम्सका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा.हेमराज पन्तलाई धनगढीमा नागरीक अभिनन्दन गरिएको छ । समग्र सुदूरपश्चिमको शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै धनगढी उपमहानगरपालिकाको संयोजकत्वमा प्राध्यापक डा.पन्तलाई अभिनन्दन गरिएको हो ।
प्राध्यापक डा.पन्त र उहाँकी धर्मपत्नीलाई फूलमालाले सजिसजावट गाडीमा राखेर चौराहदेखि पञ्चेबाजा र झाँकी सहित नगरपरिक्रमा गराएर पार्कमोडमा हजारौंको सुदूरपश्चिमेलीबासीको उपस्थितिमा उहाँलाई अभिनन्दन गरिएको हो । प्राध्यापक डा.पन्तलाई धागढीमा त्रिलयाशिल सयौं संघ संस्थाले अभिनन्दन पत्रद्वारा अभिनन्दन गरेका थिए ।
उहाँलाई धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन पत्रद्वारा सम्मान गर्नुभएको थियो । नगरप्रमुख हमालले हाम्रो समाजमा राम्रो संस्कारको बानी बसाल्न यो काम गरिएको बताउनुभयो ।
नगरप्रमुख हमालले पन्त सरको योगदानको तुलना नै गर्न नसकिने भन्दै नागरीक स्तरबाटै उहाँलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अभिनन्दित भएपछि प्राध्यापक डा.पन्तले आफूले नियमित रुपमा अरु नागरीकले झै कर्म मात्रै गरेको तर यो स्तरको सम्मानबाट आफू भावुक भएको बताउनुभयो ।
प्राध्यापक डा.पन्तले आफूले उर्जावान जिवन नै सुदूरपश्चिमका लागि अझ विशेष गरी धनगढीका लागि खर्चिएको भन्दै बाँकी जिवन पनि धनगढीमै बिताउने बताउनुभयो ।धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई अभिनन्दन गरिएको हो। पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए। पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन्।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो। भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए। प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन्।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन्। सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ। हेमराज पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए।
हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए। बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो। उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए। दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे। उनले शंकरदेव क्याम्पसबाट विकम गरे। २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे।
२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्। २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो। उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले। २०७४ सालमा उनी सेवानिवृत्त भए।
प्राध्यापक डा.पन्तलाई नागरीक अभिनन्दन गरिएको भिडियो