You are currently viewing प्रिन्सिपल एसोसिएसन अफ नेपालद्वारा धनगढीका सामुदायिक विद्यालय र विद्यार्थीहरू सम्मानित

प्रिन्सिपल एसोसिएसन अफ नेपालद्वारा धनगढीका सामुदायिक विद्यालय र विद्यार्थीहरू सम्मानित

१ साउन,२०८२ : सालको माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई धनगढीमा एक कार्यक्रम आयोजना सम्मान गरिएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल ( पान) कैलालीको आयोजनामा आयोजित उक्त कार्यक्रम धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा धनगढी क्षेत्रका सर्वोदय माध्यमिक विद्यालय, पञ्चोदय माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलाई सामुदायिक तहमा उत्कृष्ट नतिजा ल्याएको भन्दै सम्मान गरिएको थियो। सर्वोदय माविमा सहभागी १५ विद्यार्थीमध्ये सबैले उत्तीर्ण गर्दै १०० प्रतिशत नतिजा ल्याएकोमा विद्यालयका प्रधानाध्यापक धर्मानन्द अवस्थीलाई विशेष सम्मान प्रदान गरिएको हो। पञ्चोदय माविमा १८७ विद्यार्थी एसईईमा सहभागी भएका थिए, जसमध्ये १७४ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने त्रिभुवन मावि बोराडाँडीका ७६ सहभागीमध्ये ६० जना सफल भएका थिए। त्रिभुवन माविका विद्यार्थी अशोक कुमार अवस्थीले ४।० जिपिए ल्याएकोमा उनलाई पनि विशेष रुपमा सम्मान गरियो।

 

कार्यक्रममा बोल्दै पञ्चोदय माविका प्रधानाध्यापक हरिश कुमार ओझाले शिक्षा संसार बदल्ने होइन, मान्छे बदल्ने माध्यम भएको बताए। उनले पछिल्लो समय सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको भन्ने आलोचना बीच यसपटक प्राप्त उत्कृष्ट नतिजाले सार्वजनिक विद्यालयप्रति जनविश्वास बढाउने आशा व्यक्त गरे। उनले यस्ता सम्मान कार्यक्रमहरूले प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सबैमा जिम्मेवारी र हौसला थप्ने उल्लेख गरे।

पान कैलालीका अध्यक्ष तर्कराज जोशीले पान कुनै राजनीतिक संगठन नभई शुद्ध रुपमा शिक्षक र विद्यालयको हकहित तथा गुणस्तर सुधारमा काम गरिरहेको संस्था भएको स्पष्ट पारे। उनले नाफामुखी सदस्यता विस्तारभन्दा पनि साझा सिकाइ र अनुभव आदानप्रदानलाई प्राथमिकता दिइएको बताए। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)  कैलालीले यसअघि पनि बहस, अन्तरक्रिया, सम्मानजस्ता कार्यक्रम गर्दै सार्वजनिक शिक्षा सुधारतर्फ महत्वपूर्ण योगदान दिँदै आएको छ।

 

यसपटक एसईई २०८१ मा सामुदायिक विद्यालयले ल्याएको उत्कृष्ट नतिजाले नकारात्मक धारणालाई तोड्दै गुणस्तरीय शिक्षाको सम्भावना सार्वजनिक विद्यालयमै सम्भव छ भन्ने सन्देश दिएको सहभागीहरूले बताए।पान सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मणदत्त भट्टले संस्था स्थापना भएको १८ महिनाको अवधिमा सातवटै प्रदेशमा उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम गरिसकेको जानकारी दिए। अछाम, बैतडी पछि हाल कैलालीमा कार्यक्रम गरिएको र यो हप्ता भित्रै प्रदेशका अन्य जिल्लामा समेत यस्ता कार्यक्रम सम्पन्न गरिने योजना रहेको बताए। उनले शिक्षा नै समाज रूपान्तरणको मूल साधन भएकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा संस्थाले विशेष ध्यान दिएको बताए।धनगढी नमुना प्राविधिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र राज जोशीले पुराना शिक्षकलाई नयाँ प्रविधि र शैक्षिक पद्धतिमा जोड्न आवश्यक रहेको बताए। उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख सचिव डा। कमल प्रसाद पोखरेलले सरकारले शिक्षामा तीनवटा नीति अघि सारेको बताउँदै, विद्यालयमा सम्पूर्ण पहुँच, गुणस्तर अभिवृद्धि र निरन्तरता सुनिश्चित गर्नुपर्ने बताए। विद्यार्थीले निरन्तर कक्षा उपस्थित हुन पाउने वातावरण बनाइनुपर्ने, छात्रवृत्ति व्यवस्थापन, शिक्षक उत्प्रेरणाको व्यवस्था र नतिजामूलक शिक्षण प्रणाली विकास आवश्यक रहेकोमा जोड दिए।

विशिष्ट अतिथि सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले शिक्षा मार्फत व्यक्ति सक्षम बन्ने भएकाले मन्त्रालयले सीपमूलक तालिमसँगै शिक्षाको गुणस्तरमा ध्यान दिइरहेको बताए। स्थानीय सरकारको अभिभावक प्रदेश सरकार हुने भएकाले भौतिक पूर्वाधार, प्रविधियुक्त कक्षा कोठा, योग्य शिक्षकको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवाली, पान धनगढी नगर अध्यक्ष लेखराज ओझा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका सदस्य, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply