असार ३,धनगढी : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टिम स्कटल्याण्डले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भयो ।उसका लागि माइकल लिस्कले ४६ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, कप्तान म्याथ्यू क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
स्कटल्याण्डलाई कम स्कोरमा रोक्न नेपाली टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित ११ रन मात्र दिएर सर्वाधिक चार विकेट लिए ।सन्दीपले सोमबार नेदरल्याण्ड्सविरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए । उक्त खेलमा उनले ४ ओभरमा १८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।यस्तै, मंगलबार स्कटल्याण्डविरुद्ध करण केसी र दीपेन्द्र सिंह ऐरीले दुई÷दुई तथा ललितनारायण राजवंशीले एक विकेट हात पारे ।
आजको खेलका लागि नेपालले प्लेइङ–११ मा एक परिवर्तन गरेको छ । पहिलो खेलमा घाइते भएका नन्दन यादवको स्थानमा बसिर अहमद समावेश भएका छन् । नन्दनको औँलामा चोट लागेको जनाइएको छ ।नेपाल र स्कटल्याण्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो ।
यद्यपि टी–२० फर्म्याटमा भने यी दुई टोलीबीच सन् २०१३ मा यूएईमा आयोजित विश्वकप छनोट प्रतियोगितामा भिडन्त भएको थियो । त्यो खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।आजको खेल नेपालका लागि विशेष महत्वको छ । न केवल २०१३ को हारको बदला लिन, तर ऐतिहासिक जितको कीर्तिमान बनाउने अवसर पनि यस खेलसँग जोडिएको छ । त्रिकोणात्मक शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ ।
पहिलो खेलमा सोमबार नेपाल नेदरल्याण्ड्ससँग निकै रोमाञ्चक खेलमा तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।स्कटल्याण्ड भने आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिएको छ । उसले पहिलो खेलमा डच टोलीलाई ३९ रनले हराएको थियो ।