You are currently viewing बैतडीमा सात परिवार पहिरोको त्रासमा, बस्ती नै उच्च जोखिममा

बैतडीमा सात परिवार पहिरोको त्रासमा, बस्ती नै उच्च जोखिममा

३असोज,धनगढीः बैतडी जिल्लाको सुर्नया गाउँपालिका–८ रातापानी टोलका सात परिवार महिनौंदेखि पहिरोको त्रासमा छन्। “आज रात घर सुरक्षित रहन्छ कि रहँदैन?” भन्ने त्रासदीपूर्ण प्रश्नसहित उनीहरूको दिनचर्या बितिरहेको छ।
२०८१ सालको श्रावणदेखि सक्रिय बनेको पहिरोले स्थानीयलाई दिन–रात असुरक्षा र चिन्तामा राखेको छ। अविरल वर्षासँगै जमिन खस्न थालेपछि खेतबारी, सार्वजनिक बाटो, खानेपानीका पाइपसमेत क्षतिग्रस्त भएका छन्। जमिन भासिँदै गएकाले जुनसुकै बेला ठूलो पहिरोमा परिणत भई घरहरु लैजान सक्ने उच्च जोखिम रहेको स्थानीय बताउँछन्।


शिक्षक रामबहादुर बोहरा भन्छन्, “बिहानदेखि बेलुकासम्म आकाश हेर्छौं, पानी पर्‍यो भने बढी डर लाग्छ । अब त आफ्नै घर जोगाउने चिन्ता मात्रै छ।” स्थानीय उद्धव बोहरा पनि थप्छन्,घरको छेउबाटै पहिरो गएको छ “ढुङ्गा–माटो बगिरहेको आवाज रातभर सुनिन्छ। कहिलेकाहीँ त लाग्छ, अब त सबै सकियो।”
बस्तीमा अहिले न त बालबालिकाका लागि सुरक्षित आँगन छ, न वृद्धवृद्धाले आराम गर्ने थलो। खेतीबारी पहिरोले भत्काएपछि मकैसहितका बाली नष्ट भएका छन्। किसानहरू भोकमरीको डरमा छन्। सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस राहत वा पुनर्वास योजना अघि बढेको छैन। स्थायी समाधानको खोजी नभएको पिडित परीवारको गुनासो रहेको छ।”

पछिल्लो समयमा जलवायु परिवर्तन, अनियन्त्रित विकास र कमजोर विपद् व्यवस्थापन प्रणालीका कारण यस्ता घटनाहरू बढिरहेको विज्ञहरूको भनाइ छ। स्थानीय बासिन्दाले तत्काल राहत र दीर्घकालीन पुनर्वास योजना आवश्यक रहेको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply