माघ २०,धनगढी : कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ ।
सुखद सुरूवात गर्ने क्रममा अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले हरायो।
जितका लागि पाएको १६५ रनको रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । जसमा हिमाल दौल्यालले सर्वाधिक ३९ रन हिर्काएपनि जितका लागि पर्याप्त हुन सकेन्। बलिङतर्फ अत्तरियाका विवेक यादवले ४,साहव आलम र कमल गुप्ताले २र२ विकेट झारे।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६४ रन बनायो । जसमा भीम सार्कीले अर्धसतकीय पारी खेल्दै ७० रनमा नटआउट रहे। बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।
प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ।