असोज १५,धनगढी : नेपालले त्रिकोणात्मक टी(२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा क्यानडालाई १४० रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका ओपनर द्वय आसिफ शेख र अनिल शाहले उत्कृष्ट साझेदारी गरेपनि मध्यक्राका ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन ।

ओपनर अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे । नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।
कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४/ ४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे । क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १/ १ विकेट लिए ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो। नेपाली त्यही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ।