६भाद्र,२०८२ः स्टुडेन्ट एफसीले एन्फा महिला लिग छनोटमा शुक्रबार एफसी रियलेविरुद्ध ३–१ को जित दर्ता गरेको छ ।
दोस्रो जितसँगै समूह ‘ए’ को स्टुडेन्टले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि सिन्धुपाल्चोक एफसीलाई पराजित गरेको स्टुडेन्टले छहारी युवा क्लबसँग हार बेहेको थियो ।

यता रियलेको भने यो लगातार तेस्रो हार हो । यसअघि टोली छहारी र चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको थियो । च्यासल मैदानमा स्टुडेन्टलाई जित दिलाउन सुशीला सुश्लिंग, पूर्णिमा थारु र सविना तामाङले गोल गरे । रियलेका लिग पूजा थेबेले गोल फर्काइन् ।

खेलको २७औं मिनेटमा सुशीलाको गोलमार्फत स्टुडेन्टले अग्रता लिएको थियो । ६६औं मिनेटमा पूजाले रियलेलाई बराबरीमा ल्याइन् । पूर्णिमाले ७८औं मिनेटमा गोल गर्दा स्टुडेन्ट २–१ ले अगाडि बढ्यो । इन्जुरी समयमा सविनाले गोल गर्दै स्टुडेन्टको जित पक्का गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?