You are currently viewing मूलपानीमा आज ‘डु अर डाइ’ मा नेपाल र अफगानिस्तान,जित्ने टिम विश्वकप खेल्ने /@NepalvsAfganistan

मूलपानीमा आज ‘डु अर डाइ’ मा नेपाल र अफगानिस्तान,जित्ने टिम विश्वकप खेल्ने /@NepalvsAfganistan

वैशाख ६,धनगढी : आइसिसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत शनिबार नेपाल र अफगानिस्तानबीच निर्णायक भिडन्त हुँदैछ । काठमाडौंस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेलको नतिजाले सन् २०२६ मा जिम्बाब्बे र नामिबियामा हुने यू–१९ विश्वकपका लागि स्थान तय गर्नेछ । नेपाल र अफगानिस्तानबीचको खेल शनिबार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले लगातार दोस्रो तथा समग्रमा नवौँपटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ । उता अफगानी टिम पनि विगतको सफलता पछ्याउँदै फेरि विश्वकपको टिकट सुरक्षित गर्ने दाउमा छ । सन् २०२४ को यू–१९ विश्वकपमा नेपालसँग पराजित भएको अफगानिस्तान यसपटक छनोट चरण खेल्न बाध्य भएको हो ।

जारी प्रतियोगिताअघि भएको अफगानिस्तानसँगको तीन खेलको शृंखला नेपालले १–२ को हार बेहोरेको थियो । पहिलो खेल सहजै गुमाए पनि दोस्रो म्याचमा नेपालले कडा टक्कर दियो ।तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै नेपालले अफगानिस्तानविरुद्ध ८५ रनको सानदार जित निकाल्यो । त्यो लय कायम राख्दै नेपालले जारी विश्वकप छनोट प्रतियोगितामा लगातार तीन खेलमा जित दर्ता गरेको छ । र, नेपाल चौथो खेलमा पनि अफगानिस्तानलाई हराउँदै ऐतिहासिक सफलता हात पार्ने सोचमा छ ।

अफगानिस्तानले पनि तीनवटै टोलीलाई हराउँदै उच्च नेट रनरेट बनाएको छ । शनिबारको खेल दुवै टोलीका लागि ‘डु–अर–डाइ’ हुनेछ ।नेपाल घरेलु दर्शकको समर्थनसहित मैदानमा विश्वकप टिकटको लक्ष्य लिएर उत्रिनेछ । शनिबारको निर्णायक खेलमा नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । हालसम्म यस प्रतियोगितामा यूएईविरुद्ध मात्र केही संघर्ष गर्नु परेको नेपालले अफगानिस्तानजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध परिस्थितिअनुसार रणनीति बनाउँदै मानसिक दबाब सामना गर्नुपर्नेछ ।खेलको प्रमुख प्रतिस्पर्धा नेपाली स्पिनर र अफगानिस्तानी ब्याटरबीच हुने देखिन्छ । नेपालले बलिङमा सुरुदेखि नै दबाब सिर्जना गर्न सके अफगानिस्तानलाई रोक्न सक्छ ।

ब्याटिङ पक्षमा नेपालले शीर्षक्रममा निर्भरता घटाउँदै मध्यक्रमबाट पनि योगदानको अपेक्षा गर्नुपर्नेछ । अफगानिस्तानको मध्यक्रम भने नेपालको तुलनामा बलियो देखिन्छ । विशेषगरी उसले पछिल्लो खेलमा यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेको थियो ।बलरमैत्री तल्लो मूलपानी क्रिकेट मैदानको पिचलाई कसले राम्रोसँग उपयोग गर्छ भन्ने कुराले पनि विश्वकप टिकटको भाग्य तय गर्नेछ ।

 

हेड टु हेड

हालसम्म नेपाल र अफगानिस्तान १९ पटक आमनेसामने भइसकेका छन्, तीमध्ये अफगानिस्तानले १२ र नेपालले ७ खेलमा जित दर्ता गरेको छ । शनिबार नेपाली टिमसामु हेड टु हेड रेकर्डमा सुधार गर्ने मौका पनि छ । सन् २००७ मा पहिलोपटक अफगानिस्तानलाई हराएको नेपालले सन् २०११ मा दुईपटक, सन् २०१८ मा एकपटक, सन् २०२४ मा दुईपटक र सन् २०२५ मा एकपटक जित हात पारेको थियो ।

स्मरण रहोस्, सन् २०२४ मा अफगानिस्तानजस्तो बलियो टोलीविरुद्ध नेपालले दुईपटक रोमाञ्चक एक विकेटको जित निकालेको थियो । उक्त जित नेपालले यू–१९ विश्वकप र एसिया कपमामा हासिल गरेको हो । यी नतिजाहरूले देखाउँछ कि अफगानिस्तान जति बलियो भए पनि नेपालले दबाबमा उत्कृष्ट खेल प्रस्तुत गर्दै जित निकाल्न सक्छ । शनिबारको निर्णायक भिडन्तमा पनि नेपाली टिमसामु त्यही हौसला पुनः दोहोर्याउने मौका छ ।

#फरकधारबाट

Leave a Reply