You are currently viewing यसरी तयार भएको थियो दोरी उपन्यास ( रचना गर्भ )

यसरी तयार भएको थियो दोरी उपन्यास ( रचना गर्भ )

रहर त रहरै हो !

रहरहरूको उडान र अवतरण आकस्मिक र अचम्मकै हुने गर्दछ । जीवन जिउन उत्प्रेरित गर्ने पहिलो आधार रहर नै हो । रहर पूरा गर्न हामीले के–कति प्रयत्नहरू ग¥यौं, तपशीलका कुरा । तपशीलकै कुरामा हाम्रा निरन्तरका व्यवहार, योजना, व्याख्या विवेचना आदि इत्यादि निर्माण हुने गर्दछन् ।

लेखनको पहिलो आधार पनि रहर नै त हो ! कुनै लेखकले ‘रहर’ लाई लुकाएर जेनतेन आदर्शको जगमा लेखेें भन्दछ भने त्यो झुट्टा हुन्छ । मेरो पनि लेखनको पहिलो आधार रहर नै हो र आज पनि लेखनका लागि मसँग यथेष्ट रहरहरू छन् । परिस्थिति अनुरुप रहर फेरिँदै जान्छन्, त्यो फरकै कुरा ।

लेखक रसिक आफ्नै घरको पुस्तकालयमा

बजार उपन्यासहरूको भीडले कब्जा गरेको थियो । त्यै भीडले सिर्जना गरेको हो मेरो पछिल्लो रहर । रहरले किशोरावस्थामै एक गजल संग्रह प्रकाशन भएको थियो । त्यसपछिको डेढ दशक केही कविता, कथा र निबन्धहरू लेखियो । तिनलार्इृ पुस्तकाकार रुपमा प्रकाशन गर्नु अगावै बजारको हल्लाले नयाँ रहर जगायो– ‘बजार चिन्नुपर्छ, उपन्यास लेख्नुपर्छ !’ नलेखिएको भूगोलमा केही महिना डुलेर लेखियो । पुनर्लेखन गरियो । पाण्डुलिपि तयार भयो । केही महिना राखियो । प्रकाशनका लागि अन्तिमपल्ट पढ्दा आफैलाई चित्त बुझेन । आफैलाई चित्त नबुझेको विषयको बोझ पाठकलाई किन सुम्पनु ! कुनै नयाँ योजना निर्माणको लागि मेरो मौन समय सुरु भयो ।

क मध्यरात बिर्तामोडको गल्लीमा हिँडिरहेका थियौं, लेखक अमर न्यौपाने, डिल्लीराज ओझा र म । एक कार्यक्रमका दौरान हामी त्यहाँ पुगेका थियौं । ‘तपाईंको उपन्यास कुन विषयमा छ ?’ अमरदाइले सोध्नुभो । त्यो पुरानो पाण्डुलिपिको कुरा थियो ।

‘खिचडी छ दाइ ! अलिअलि समाज, राजनीति, विज्ञान …!’

‘यो समय खिचडीको हैन, औषधिको हो ! औषधिमा विशेष तत्व हुन्छ । साहित्यमा पनि विशेषज्ञता चाहिएको छ । …अनि, समाज संस्कृति त हामीले लेखिरहेकै छौं, तपाईं किन लेख्नुहुन्छ ? फिजिक्स पढेको मान्छे लेखनमा आउनुभा’छ, केही नयाँ लेख्नुस् …!’ दाइको कुराले झस्कायो । त्यो धेरै दिनसम्म मस्तिष्कमा घुमिरह्यो ।

आजै लेखौं, भोली नै प्रकाशन गरिहालौं भन्ने सोच मात्र मनमा हुँदो’हो त मैले पछिल्लो दशकमा एक मामुली लेखकको पहिचान बनाएसकेको हुन्थेंहोला । हरेक लेखनको ठीक अघि र पछि मेरा मनमा प्रश्न उठिरहन्छ– ‘देशमा हजारौं लेखक र दशौं हजार पु्स्तकहरू प्रकाशित छन् । हरेक दिन नयाँ लेखक र नयाँ पुस्तक तयार भइरहेका छन् । म लेखक नबन्दैमा के फरक पर्छ ?’

हरेक आत्मविमर्शपछि म यौटै निस्कर्षमा पुग्ने गर्छु– ‘केही विषय छन् मसँग जो अरु कसैले लेखिदिएको छैन् । मैले नलेखे त्यो अरु कसैले लेख्ने छैन । यदि मैले केही त्यस्तो सक्छु भने त्यो लेख्नुपर्छ ।’ यही आत्मरतिले लेखनमा डो¥याउँछ । कथा निबन्ध या समसामयिक लेखहरू लेख्दा अक्सर यस्तो हुने गर्दछ ।उसो त हरेक लेखकले आफ्नो लेखनबारे यसै भन्दा’हुन् ।

 

जता हेर्छु अचम्म मात्रै देख्छु ! मान्छेभन्दा बढ्ता कम्प्युटर छन ! अनेकथरी काम गर्ने मेसिन छन ! मान्छेले गर्ने सबथोक मेसिनले गर्छन याँ ! खाना खाने मेसिनमात्र देखिएको छैन ! हत्तेरिका !! जापानीहरू सेक्ससमेत मेसिनसँगै गर्दा रहेछन्

 

संसार असंख्य कथाहरूको संयोजन हो । कथाहरू यत्रतत्र छन् । हामीलाई के–ले छुन्छ, छुँदैन ! केलाई हामीले अँगाल्छौ, छोड्छौं ! त्यो फरकै कुरा ।

केही वर्षअघिको समाचार हो– कतार काम गर्न गएका एक युवक तीन वर्ष उता बसे । फर्किदा तीन लाख रुपैयाँँ ऋण बोकेर आए । कमाएको भन्दा बढ्ता पैसा प्रेमिकालाई फोन गर्नमा खर्च गरेका रहेछन् उनले । त्यस्तै अवस्था देशभित्र पनि छ । उहिले खेतबारीमा काम गर्नेहरू आजकल फेसबुकमा व्यस्त देखिन्छन् । विदेशबाट आएको पैसाले अन्न खरिद हुन्छ ।पढ्दा साधारण जस्तो लाग्ने समाचारबाट कुनै आकर्षक कथा बन्न सक्छ भन्ने उतिबेलै लागेको हो ।

रहरको हुरीले उडाएर जापान पुगेको एक साथीले पहिलो अनुभव सुनायो– ‘जता हेर्छु अचम्म मात्रै देख्छु ! मान्छेभन्दा बढ्ता कम्प्युटर छन ! अनेकथरी काम गर्ने मेसिन छन ! मान्छेले गर्ने सबथोक मेसिनले गर्छन याँ ! खाना खाने मेसिनमात्र देखिएको छैन ! हत्तेरिका !! जापानीहरू सेक्ससमेत मेसिनसँगै गर्दा रहेछन् ।’

साथीको अनुभवबाट लेखक मनलाई नयाँ उपहार प्राप्त भयो । वैदेशिक रोजगारमा जाने हाम्रा युवामा प्रविधि चेतना किन आवश्यक छ र त्यो नहुँदा के–कस्ता समस्या आइपर्न सक्छन् ? यो एक गम्भीर चिन्तनको विषय थियो । यही चिन्तनले दोरीको भ्रुण निर्माण गरेको हो । प्राविधिक चेतना, भाषाको ज्ञान र कामको सीपको अभाव बोकेर विकसित मुलुकमा पुगेको एक युवकको आकृति जो मेरा मनमा निर्माण भयो, त्यही थियो भ्रुण ।

कथाको मूल परिवेश पनि जापान नै रोजें । त्यसका दुई कारण छन् । पहिलो, संसारमा सबभन्दा बढी प्रविधिको विकास भएको मुलुक जापान हो । दोस्रो, वर्तमानमा नेपाली युवाहरूको पहिलो गन्तव्य जापान बनेको छ ।

कतार काम गर्न गएका एक युवक तीन वर्ष उता बसे । फर्किदा तीन लाख रुपैयाँँ ऋण बोकेर आए । कमाएको भन्दा बढ्ता पैसा प्रेमिकालाई फोन गर्नमा खर्च गरेका रहेछन् उनले

इन्टरनेटको विकास मानव चेतनाको सबभन्दा ठूलो उपलब्धि हो । इन्टरनेटबाटै मैले जापान भ्रमण गरें । युट्युब, फेसबुक तथा गुगलको सहायताबाट टोकियो सहरका राजनैतिक, प्रशासनिक, भौगोलिक तथा सांस्कृतिक पक्षहरूको अध्ययन अवलोकन गरें । त्यहाँको जीवनशैलीबारे पनि इन्टरनेटबाटै जानकारी लिएँ । धेरथोर जापानी भाषाको ज्ञान पनि हाँसिल गरे । यही ज्ञानको आधारमा दोरी ‘फस्टराइट’ तयार भयो ।

त्यसपछि मात्र जापान बसेका केही साथीहरूसँग उताका अनुभवहरू र मैले लेखेका विषयबारे छलफल गरियो । सुखद् कुरा, अनलाइन ज्ञानको आधारमा लेखिएका कुराहरू साथीहरूको प्रत्यक्ष अनुभवजस्तै थिए । तिनलाई परिवर्तन गर्नुपरेन । लेखकले देखेको भोगेको परिवेश परिस्थितिका कुराहरू कथामा धेरथोर आइहाल्दा रहेछन् । कथालाई रोचक बनाउन अलिअति साजसज्जा पनि थप्नैपर्ने !

एक प्रिय लेखकको एक पुस्तक महेन्द्रनगर आइपुगेको छ भन्ने सुनें । त्यो २०६२ तिरको कुरा । जतिबेला म स्नातक प्रथम वर्षमा अध्ययनरत् थिएँ । म भाडाको कोठामा बस्थे र घरबाट हिसावकिताव गरेर आएको खर्चपानीले मेरो दैनिकी चल्थ्यो । खाजा खर्च कटाएर म पुस्तक किन्ने गर्थें । त्यो दिन पनि त्यसरी नै पुस्तक पसलमा गएँ । चार सय पृष्ठको पुस्तकमा मूल्य देखें– चार सय । मेरो पुस्तक किन्ने रहर निराशामा परिणत भयो । खल्तीमा जम्मा रुपैयाँ दुई सय थियो ।

तर मेरो रहर पूरा गर्न सघाए, साहुजीले । बाँकी पैसा उधार खातामा राखेर उनले मलाई पुस्तक दिए । उधार खाताको बाँकी पैसा चुक्त गर्न मलाई निकै दिन कसरत गर्नुप¥यो । तर, जब पुस्तक पढी सिध्याएँ, पुस्तकले अनावश्यक उधारको बोझ बोकाएको महसुस भयो । पुस्तकमा ‘खास साहित्य’ महँगोमा दुई सयकै थियो । बाँकी आधा झिनामसिना विषयवस्तु थपथाप गरेर पुस्तक मोटो र मूल्य दोब्बर बनाइएजस्तो ।

त्यो प्रचलन आज पनि चलिरहेकै छ । चल्तीका लेखकका अधिकांश पुस्तकमा पढ्नलायकको विषयवस्तु आधाजति हुन्छ । बाँकी अति सामान्य विषयवस्तु खाँदेर पुस्तक मोटो र मूल्य दोब्बर बनाइएको हुन्छ । त्यसले अधिक रकम खर्च गर्न अक्षम पाठकलाई निराश बनाउँछ । पढ्दा समय पनि यति धेरै लाग्छ कि पुस्तक पढेर अन्तिममा पुग्दासम्म सुरुवात्का कथावस्तु नै बिर्सिइन्छ । उसो त नेपाली साहित्य बजारका बहुसंख्यक पाठक कलेज तहका युवायुवती तथा मध्यम आयस्तर भएका व्यक्तिहरू नै हुन् । ‘व्यापारिक पार्टी’ मार्फत गएर पुस्तकालयमा थन्किने पुस्तकहरूसँग पाठकको खास साइनो हुँदैन ।

मलाई उतिबेलै लागेको हो– कुनै दिन पुस्तक लेखें भने आकार सानो र मूल्य न्युनतम राख्ने बनाउँछु । बढीभन्दा बढी पाठकले पुस्तक पढुन् । दोरीमा मैले त्यो अधिक प्रयास गरें । यदि लेखकलाई आत्मसमीक्षाको अवसर हुन्छ भने म भन्न सक्छु– जुनसुकै उमेर र वर्गका पाठकले झिँजो नमानी तीनचार बसाइमै पढेर सिध्याउने विषय, शैली र आकार बनेको छ ‘दोरी’ । नेपाली साहित्यका लागि एकदमै नयाँ विषय ।

वर्तमानको युवापुस्ता, हुर्किँदै गरेको नयाँपुस्ता मेरा चासोका विषय हुन् । उनीहरूलाई नयाँ ज्ञान, चेतना र उत्प्रेरणा चाहिन्छ । समाज, संस्कृति र सभ्यता पढाउने नाममा निरन्तर रुढ ज्ञानको पुनरावृत्ति नयाँपुस्तालाई फाइदाजनक छैन भन्ने मेरो बुझाइ छ । ‘दोरी’ निर्माणका दौरान यो पक्षमा म निकै सचेत थिएँ ।

‘दोरी’ पाठकको हातमा पुगेको सय दिन पूरा भएको छ । यो अवधिमा अपेक्षा गरेभन्दा बढ्ता सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । पुस्तकका कमिकमजोरीबारे जेजति प्रतिक्रियाहरू आइरहेका छन्, तिनलाई बढी आत्मसात् गरिरहेको छु । ‘कमजोरी लुकाउनु हुँदैन, खोजेर हटाउनुपर्छ’ भन्ने मान्यतामा मेरा हरकर्महरू अघि बढ्ने गर्छन् । आज पनि अपेक्षा छ– पाठकहरूको स्ुझाव सहयोगमा ‘दोरी’ का कमजोरीबाट मुक्त हुन सकुँ । जीवनमा न्युन कमजोरीका केही सिर्जना गर्ने इच्छा छ ।

सौर्य अनलाइन डटकमबाट साभार……

Leave a Reply