३असोज,धनगढीः जेन–जी पुस्ताको आन्दोलनले यातायात कार्यालय, धनगढीमा ठूलो क्षति पुर्याएको छ । आन्दोलनकारीले लगाएको आगलागीका कारण १८ हजार भन्दा बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जलेर नष्ट भएका छन् । करिब चार करोड ५२ लाख रुपैयाँ बराबरका इम्बोस नम्बर प्लेट नष्ट भएपछि कार्यालय वितरण कार्य सुरु गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कार्यालयका प्रमुख भूवन जोशीका अनुसार असोज १ गतेदेखि इम्बोस नम्बर प्लेट वितरण गर्ने तयारी रहेको थियो तर आगलागीका कारण सम्पूर्ण तयारी रोकिएको हो । तीन दिनसम्म निरन्तर लागेको आगोले नम्बर प्लेट मात्र नभई करिब एक करोड ५० लाखभन्दा बढीका फर्निचर र अन्य उपकरणसमेत नष्ट भएका छन् ।

धनगढीमा पठाइएका नम्बर प्लेट गद्दा र बाकसमा राखिएकाले आगो तीन दिनसम्म निभाउन नसकिएको जनाइएको छ । आन्दोलनकारीहरूले भ्रष्ट्राचारको आरोप लगाउँदै सुरुमा नै इम्बोस नम्बर प्लेट रहेको गोदाममा आगो लगाएका थिए । यातायात कार्यालयले अहिले अन्य सेवा भने फेरि सञ्चालनमा ल्याएको छ तर इम्बोस नम्बर प्लेट वितरण कार्य भने अनिश्चितकालका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?