कार्तिक २९,धनगढी : युवा फरवार्ड नीराजन धामीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। सेन्ट्रल स्टेडियम डुसान्बेमा बुधबार ताजिकिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा उनले वैकल्पिक खेलाडीको रूपमा मैदान उत्रिँदै सिनियर टोलीमा डेब्यु गरेका हुन्।
उनी जेलेस्पीजंघ कार्कीको स्थानमा ७४औं मिनेटमा मैदान प्रवेश गरेका थिए। धामी करियरकै उत्कृष्ट लयमा रहेका खेलाडी हुन्। यु–२३ टोलीबाट खेलिसकेका उनी दोस्रो प्रयासमा राष्ट्रिय टोलीसम्म पुगेका हुन्। यसअघि पनि उनलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। तर, टोलीमा स्थान बनाउन सकेका थिएनन्। मनाङ मर्स्याङ्दीबाट ‘ए’ डिभिजन लिग खेल्दै आएका उनले गत संस्करण नेपाल सुपर लिग ९एनएसएल० मा बुटवल लुम्बिनी फुटबल क्लबको प्रतिनिधित्व गरेका थिए।
गत अगस्टमा एन्फा कम्प्लेक्समा भएको साफ यु–२० मा नेपाललाई फाइनल पुर्याउन उनले तीन गोल गरेका थिए। समूहचरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए। यस्तै, बंगलादेशविरुद्धको २–१ को जितमा पनि उनले सुरुआती गोल गरेका थिए।नेपाललाई फाइनल पुर्याउन पनि उनकै गोल निर्णायक साबित भयो। भुटानविरुद्धको उक्त खेलमा १–० ले पछि परेको अवस्थामा उनले ७८औं मिनेटमा गोल गर्दै खेलमा टाइब्रेकरसम्म पुर्याएका थिए।
उनी यही प्रतियोगितामा गरेको प्रदर्शनका कारण आफू राष्ट्रिय टोलीमा परेको बताउने गर्छन्। उनी अञ्जन विष्ट र विमल घर्तीमगरलाई आफ्नो आइडल मान्ने गर्छन्।२६ वर्षीय अञ्जन हरि खड्का र नीराजन रायमाझीसँग सर्वाधिक गोलकर्ताको सूचीमा छन्। यस्तै, नेपाली जर्सीमा ९ गोल गरेका विमल भने अस्ट्रेलिया पलायन भइसकेका छन्। विमलसँगै खेल्ने अवसर प्राप्त नगरे पनि धामीले अञ्जनसँग खेल्ने सपना भने पूरा गरेका छन्।
खेलपाटीबाट साभार