नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को सहज जित हात पारेको छ । यो जितमा नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले २-० को अग्रता बनाइसकेको थियो। नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। यसपछि १३औं मिनेटमा सुबास बमको सहयोगमा सुजनले गोल गर्दै नेपालको अग्रता दुगुना गरे।
सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे। सुजनको तीन गोलमा नेपाल पहिलो हाफमा ३-० को फराकिलो अन्तरको अग्रता बनाउन सफल रहयो। दोस्रो हाफमा पनि श्रीलंका खेलमा फर्कन सकेन भने ८३औं मिनेटमा विज्ञान खड्काले नेपालको लागि चौथो गोल गरे।
यसरी नेपालले श्रीलंका विरूद्ध ४-० को सानदार जितमा महत्वपुर्ण ३ अंक बनाएको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले हारेको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका भुटानसँग ५-१ ले हारेको थियो।
समुहमा ‘बी’ मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार भुटानसँग खेल्नेछ। गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो। यो समुहको दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल असोज १२ र फाइनल १४ गते हुनेछ।