असार ११,धनगढी : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई रिटेन गरेको छ।लुम्बिनी लायन्सले बुधबार आफ्नो फेसबुक पेजबाट कप्तान रोहितकुमार पौडेललाई रिटेन गरेको जानकारी गराएको हो ।

त्यसैगरी लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडीको नामावली पनि सार्वजनिक गरेको छ । क्लबले बुधबार सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई क्लबमै राख्ने निर्णय गरेको हो । लुम्बिनी लायन्स पहिलो संस्करणमा प्लेअफ पुग्न असफल भएको थियो । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।

यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद तथा चितवन राइनोजले कुशल मल्ल,रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेका थिए ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गतवर्षदेखि सुरु भएको नेपाल प्रिमिय लिग (एनपिएल) ले पहिलो संस्करणमै वाहिवाही कमाएको थियो । ठूला नाम भएका विदेशी खेलाडी,विश्वप्रसिद्ध स्पोर्टस च्यानल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण,लोकप्रिय कमेण्टेटर,झकिझकाउ टियु मैदान लगायतका आकर्षणले एनपिएलको पहिलो संकरण नै शानदार भएको थियो । क्यानले दोश्रो संकरणको एनपिएलको छिट्टै घोषणाको तयारी पनि थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?