You are currently viewing लोकेन्द्र बोहरा परिवर्तनका ५ उत्कृष्ट गजलहरु / कला साहित्य / समर्पण मिडिया

लोकेन्द्र बोहरा परिवर्तनका ५ उत्कृष्ट गजलहरु / कला साहित्य / समर्पण मिडिया

१)
केही साहु सम्झिदा केही रिन सम्झिदा,
अझै आँखा रसाउछन ति दिन सम्झिदा ।

एक सहर सम्झिन्छु एक तिमी बिजुली बल्दा,
आमा अनि गाउँ सम्झिन्छु लाल्टिन सम्झिदा ।

डोजरलाई हेर्छु बुवाका पाखुरा पनि हेर्छु,
बुवालाई भुल्ने कुरा भएन मेसिन सम्झिदा ।

जिन्दगी भर तिमीलाई सम्झिए म कहाँ हुँला,
आफ्नै दुनियाँमा हुन्छु एकछिन सम्झिदा ।

प्रेमी प्रेमीका नभएका पनि होलान अझै पनि,
मन भारी भारी हुन्छ घरवारविहीन सम्झिदा ।

२)
सधै खुसी राख्न सकु आमा बुवालाई पनि,
चाहे जति दिन सकियोस् बटुवालाई पनि ।

एकचोटि यसरी जल्ने मन छ चित्तामा ,
नियाल्न पाइयोस् उडिरहेको धुवाँलाई पनि ।

तिमीले मलाई भ्यागुत्ताको संज्ञा दिएर ,
किन बढाइरहन्छौ सधैं कुवालाई पनि ।

आमाका केही सपनाहरु पुरा गर्नुछ अझै ,
बिर्सिने कुरा हुदैन अब सुवालाई पनि ।

आफु पसिना बेचेर पनि बाँच्न हम्मेहम्मे छ ,
धेरैले बचाइ राखेका छन भट्टी र जुवालाई पनि ।

३)
मान्छे चिन्ने कयौं अवसरहरु आएका छन ,
मलाई म छु भन्नेहरुले नै डुबाएका छन ।

गुलेली खेलाउने अवसर छ बच्चाहरूलाई ,
बुवाले आगनमा विस्कुन सुकाएका छन ।

अब कहाँ कसरी रह्यो र विस्वास भन्ने चिज ,
चिया न पिउनेले पनि भट्टि रित्याएका छन ।

सोचौं कति सुन्दर होला मिलनको त्यो बिन्दु ,
कसैलाई पर्खेर कसैले वर्षै वर्ष बिताएका छन ।

सालिकसम्म पनि बचाउन सकेनौं हामीहरुले ,
जसले आफु मरेर भएपनि देश बचाएका छन ।

४)
यो समयले बेला बेला चोट दिने रहेछ ,
दिन बार महिना हुदै वर्ष सकिने रहेछ ।

आवश्यकता अनुसार प्रयोग गरेर ,
यहाँ सम्झिन्छु भन्नेले बिर्सिने रहेछ ।

अरुको मन राख्नु चानचुने कुरा होइन ,
बाँडेर हेर त सागर पनि रित्तिने रहेछ ।

अन्तिममा आएर रुदै देश छोड्नु पर्यो ,
देशभक्तिले भोको पेट नभरिने रहेछ ।

आगोको प्रेमले मार्ने रहेछ एकछिनमै,
पानीको धोकालेले युगांै बाँचिने रहेछ ।

५)
अजिङ्गर आतंक फैलाउँछ गोही मर्छ ,
यहाँ पैसाको मामिलामा हर कोही मर्छ ।

जानेहरु खुसी भएर जाँदा रहेछन् ,
बारबारको सम्झनाले निर्मोही मर्छ ।

यो कलियुग हो सहयोग चल्दैन ,
जो बचाउन चाहान्छ सोही मर्छ ।

यहि पाठ सिकाएकोछ हरेक युद्धले ,
हो अन्तिममा आएर विद्रोही मर्छ ।

कति मन दुखेको होला सगरमाथाको ,
जब हिउँपहिरोमा परि पर्वतारोही मर्छ ।

 

बित्थड चिर गाउँपालिका ३ बझाङ स्थायी घर भएका गजलकार लोकेन्द्र बोहरा ‘परिवर्तन’ पछिल्लो पुस्ताका शसक्त गजलकार हुन । उनी आफ्नै गाउँघर,पानी पँधेरो,खेतबारीमा बिताएको समय,त्यहाँको परिवेश ,हावापानीलाई लिएर सुन्दर ढंगले गजल कोर्ने गर्छन । देशका विभिन्न ठाउँमा आयोजना हुने गजलका कार्यक्रममा उनको सहभागिता रहने गर्दछ । २०६८ सालबाट गजल खेल्न शुरु गरेका परिवर्तनका कैफियत २ र परदेशी संयुक्त गजल संग्रहमा गजलहरु समावेश छन । त्यसैगरी उनका शाल्मलिक,उषाकिरण,पुर्णिामा,कोपिला लगायत एक दर्जन भन्दा बढी मासिक पत्रिकाहरुमा गजलहरु छापिएका छन् । हाल उनी गृहजिल्ला बझाङमै शिक्षण पेशामा आबद्ध छन ।

Leave a Reply