कार्तिक १६,धनगढी : सुदूरपश्चिमका बलर नरेन साउँद चम्किदा विराटनगरमा सुदूरपश्चिम प्रदेशले ह्याट्रिक जीत निकालेको छ । १० ओभर बलिङ गरेका नरेनले ७ मेडेन राख्दै मात्र ४ रन खर्चिदै ४ विकेट चट्काएर मधेश प्रदेशको ब्याटिङ अडर ध्वस्त पारिदिएका छन । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लुम्बिनीसँग ४१ रनले पराजित भएको सुदूरपश्चिम प्रदेशले त्यसपछि लगातार जीत हासिल गरिरहेको छ । उस्ले दोश्रो खेलमा कर्णालीलाई ५ विकेट,तेश्रो खेलमा गण्डकीलाई ५ विकेट तथा आजको खेलमा बलियो ठानिएको मधेश प्रदेशलाई ११ रनले पराजित गरेको छ ।
टस हारेर पहिला ब्याटिङका लागि उत्रिएको सुदूरपश्चिमले ब्याटबाटै भने खास प्रभाव पार्न सकेन । सुदूरपश्चिम प्रदेशको युवा टोली ४२ ओभरमा ११९ रनमै अलआउट भयो । उस्का लागि नरेन भट्टले अविजित ४४ रन र युवराज खत्रीले २५ रनको पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यान ब्याटिङमा असफल साबित भए । दिपेश बोहोरा ४,राजेश ऐर ५,प्रकाश पाण्डेय १,आशिष लुहार १०,नरेन साउँद,अशोक धामी,कैलाश ऐर र सचिन भट्टले खाता नै खोल्न सकेनन भने कप्तान हेमन्त धामीले ८ रन जोडे । सुदूरपश्चिाको इनिङमा २२ रन अतिरिक्त थपिएको थियो । मधेश प्रदेशका लागि अफ्रुदिन रैनले ४,रञ्जित कुमारले ३ तथा राजेश यादव र रोहन शाहले समान एक एक विकेट लिए ।
१२० रनको लक्ष्य पछ्याउन ब्याटिङका लागि उत्रिएको मधेश प्रदेश ४३.४ ओभरमा १०८ रनमै अलआउट भयो । उस्का लागि मयन यादवले ४७ रन,इमरान शेख र शैलेन्द्र शाहले समान १० / १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । मधेश प्रदेशको ब्याटिङ अडर ध्वस्त पार्न सुदूरपश्चिमका बलर नरेन साउँदे १० ओभर बलिङ गर्दै ७ मेडेन राखेर मात्र ४ रन खर्चिदै ४ विकेट चट्काए । यो नरेनको करियरकै उत्कृष्ट बलिङ हो । मधेश प्रदेशको पारी तहसनहस गर्न कप्तान हेमन्त धामीले २ तथा,युवराज खत्री,अशोक धामी र सचिन भट्टले समान एक एक विकेट लिए । एक ओभर बलिङ गरेका कैलाश ऐर १४ रन खर्चिदा विकेट विहिन रहे । लगातारको तेश्रो जीतसँगै सुदूरपश्चिम प्रदेश ६ अंकका साथ तालिकाको दोश्रो स्थानमा यथावत छ । ४ खेलमा ४ ओटै जीत निकालेको लुम्बनी प्रदेश ८ अंकका साथ तालिकाको शिर्ष स्थानमा यथावत छ । अब सुदूरपश्चिम प्रदेशले कार्तिक १८ गते बाग्मती तथा लिग चरणको अन्तिम खेल कार्तिक १९ गते कोशी प्रदेशसँग खेल्नेछ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ ओटै प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।