You are currently viewing विराटनगरमा सुदूरपश्चिमको लगातार चौथो जित,एक खेल अगावै फाइनल खेल्ने सम्भावना बलियो

विराटनगरमा सुदूरपश्चिमको लगातार चौथो जित,एक खेल अगावै फाइनल खेल्ने सम्भावना बलियो

कार्तिक १८,धनगढी : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जीत निकालेको छ । शनिबार सम्पन्न पाँचौं खेलमा बाग्मती प्रदेशलाई पाँच विकेटले पराजित गरेसँगै सुदूरपश्चिम प्रदेशले एक खेल अगावै फाइनल खेल्ने सम्भावना बढेको छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् । अहिलेसम्म ५ खेलमा लगातार ५ जीत निकालेको लुम्बनी प्रदेश १० अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल खेल्ने पक्का भएको छ भने समान पाँच खेल खेलेको सुदूरपश्चिम ४ मा जीत र एकमा हार सहित ८ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा रहँदै लगभग फाइनल नजिक पुगेको छ। लुम्बनी प्रदेशले अब मधेश प्रदेशसँग खेल्न बाँकी छ भने सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशसँग खेल्न बाँकी छ ।

शनिबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । बाग्मती प्रदेशले दिएको १२९ रनको लक्ष्य सुदूरपश्चिमले २८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिम प्रदेशका लागि प्रकाश पाण्डेयले सर्वाधिक ५२ रनको अविजित पारी खेले । नरेन भट्टले ३८,अभिषेक थापाले १४,दिपक रोकाया अविजित १२ रन,आशिष लुहार ३ तथा युवराज खत्रीले १ रन बनाए ओपनर राजेश ऐरले खाता नखोली आउट भए । बाग्मतीका लागि दिपक सेरालाले २ तथा दयानन्द मण्डल,रोशन विश्वकर्मा र अथर्व पौडेलले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्न उत्रिएको बाग्मती प्रदेशले ४१ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाउन सक्यो । बाग्मतीका लागि रोशन विश्वकर्माले ५६ रनको उत्कृष्ट पारी खेले । कप्तान उत्तम मगरले २६ तथा सार्थक धितालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले जमेर ब्याटिङ गर्न सकेनन । खेलमा म्यान अफ द म्याच चुनिएका युवराज खत्रीले बाग्मती प्रदेशको ब्याटिङ अडर तहसनहस पारिदिए । १० ओभर बलिङ गरेका खत्रीले १ मेडेन फ्याक्दै ५१ रन खर्चेर ५ विकेट लिए । कप्तान हेमन्त धामी,सचिन भट्ट,नरेन साउँद र अशोक धामीको नाममा समान एक एक विकेट रह्यो । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ ओटै प्रदेशको सहभागिता छ ।

Leave a Reply