You are currently viewing वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता : कमजोर ब्याटिङका कारण नेपाल हङकङसँग पराजित

वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता : कमजोर ब्याटिङका कारण नेपाल हङकङसँग पराजित

फाल्गुन २६,धनगढी : वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ । दोस्रो हारसँगै नेपालले तीन खेलमा दुई अंक जोडेको छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यता लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अंक छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको पराजित व्यहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो ।नेपालका लागि कप्तान इन्दु बर्माले ३२, पूजा महतोले १९, विन्दु रावलले १४ , रोमा थापले अविजित १३ र साना प्रविनले १० रन बनाए । हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङका निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो ।हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन बनाए ।नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक विकेट लिए ।

Leave a Reply