आश्विन १०,धनगढी : धनगढीमा उपमहानगरपालिका वडा न.१२ मा रहेको शारदा माध्यमिक विद्यालयका प्राचार्य जीवन रेग्मी ग्लोबल इक्सिलेन्स अवार्ड प्राप्त गरेका छन । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सो अवार्ड प्रदान गरिएको हो। ABM And Nepal Culuter And Film Center ले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका खेलि समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने व्यक्तिलाई छनोट गरी हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड अक्टोबर ६ का दिन काठमाण्डौंमा एक भव्य समारोहका बीच प्रदान गरिने अवार्डका नेपाल हेर्ने डाइरेक्टर सन्तोष सुवेदीले जानकारी दिए ।
वि.स.२०५० साल भाद्र १० गते छबिसपाथिभारा ४ बझाङ्गमा जन्मीएका रेग्मी पिता राधाकृष्ण रेग्मी र माता धनलक्ष्मीका ३ सन्तान मध्येका जेष्ठ सुपुत्र हुन । उनका सन्तोष र संगिता गरी दुई भाइबहिनी छन । बितेको दुई दशक रेग्मीले आफूलाई स्थापित गर्न असाध्यै मिहिनेत गरेका छन । मध्यम स्तरको परिवारमा हुर्किएका रेग्मीले जहाँ जहाँ हात हाले त्यहाँ त्यहाँ आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन । उसु खेलमा रुचि राखे त्यहाँ राष्ट्रिय स्तरको खेलाडीसम्म पुगे,सन २०१८ मा मिस्टर नेपालको अडिसनमा गए त्यहाँपनि देशभरीबाट सर्वाधिक भोट ल्याउँदै सबै विधाभन्दा लोकप्रीय मानिने पब्लिक च्वाइस अवार्ड जितेर सुदूरपश्चिमेलीहरुको शिर उचो बनाए ।
रोट्र्याक्ट क्लब अफ धनगढीमा सकृय रहँदै लामो समय समाज सेवा गरेका रेग्मी सन २०१९–२०२० को अध्यक्ष भएर पनि काम गरे । रोट्र्याक्ट क्लब अफ धनगढीमा रेग्मी अहिले पनि सकृय भएर काम गरिरहेका छन । फुर्सद मिल्ने बित्तिकै साथीहरुलाई सम्र्पक गरेर उनी नयाँ योजना सहित पुगिहाल्छन । सुदूरपश्चिमाञ्चल एकेडेमीबाट अंग्रेजी विषमा स्नात्तकोत्तर गरेका रेग्मीले स्नातक पढ्दापढदै शिक्षक सेवा आयोगले २०७१ सालमा लिएको परिक्षामा पास हुँदै स्थायी शिक्षक बन्ने अवसर पाए । त्यतिबेला जीवनको उमेर मात्र २१ वर्ष थियो । कलेज पढिरको भर्खरकै युवाले पहिलोपटक नै शिक्षक सेवा आयोगले लिएको परिक्षामा नाम निकालेपछि घरपरिवार,छरछिमेक र आफन्तबाट बधाइको ओइरो आयो ।
२०७१ भाद्र ३ गते स्थायी नियुक्ती बुझेर कैलालीको सरस्वती प्रावि सुगरखालबाट सेवा प्रवेश गरेका रेग्मी २०७२ सालदेखि आफैले पढेको विद्यालय शारदा माविमा कार्यरत छन । ९ वर्ष शारदामै सेवा दिएका रेग्मीलाई अहिले विद्यालय व्यवस्थापन समितिले प्रअको ठूलो जिम्मेवारी सुम्पेको छ । उनी धनगढी उपमहानगरपालिका भित्र सञ्चालित माध्यमिक विद्यालयमा सबैभन्दा कान्छा उमेरका प्राचार्य पनि हुन ।