कार्तिक १,काठमाण्डौं : भारतले नवौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतले बिहीबार पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा डाङमेई ग्रेसले दुई गोल गरिन् । यस्तै, मनीषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे ।पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्धिकीले १–१ गोल फर्काए । खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । यस्तै, मनीषा कल्यानले १७औँ मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाइन् ।

३५औँ मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । डाङ्मेई ग्रेसले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । ४७औँ मिनेटमा पाकिस्तानकी काएला मारी सिद्धिकीले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याइन् । ७८औँ मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५–२ को सहज जित दिलाइन् ।

यो जितपछि समूह ‘ए’ को भारतले ३ अंक जोडेको छ । समूह ‘ए’ मा भारत र पाकिस्तानसहित साबिक विजेता बंगलादेश छ । जारी प्रतियोगितामा समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा शुक्रबार श्रीलंकासँग खेल्ने तालिका छ ।