साफ यू २० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले बुधबार एन्फा कम्प्लेक्समा हुने फाइनलमा बंगलादेशको सामना गर्दैछ ।यस उमेर समूहमा नेपाल उपाधिमा ह्याट्रिक गर्ने कोशिशमा रहनेछ भने बंगलादेश पहिलो उपाधि जित्ने सुरमा हुनेछ । जसको लागि नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपाल अपराजित रहदै फाइनलमा पुगेको हो । नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो र भुटानमा सन् २०१७ मा भएको दोस्रो संस्करण जितेको थियो ।
फाइनलको अघिल्लो दिन नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताए । तयारी राम्रो रहेको पनि उनले प्री म्याच कन्फरेन्समा जानकारी गराए । फरवार्ड लाइनमा तालमेल मिल्न सकेको छैन भन्ने प्रश्नमा अन्य टिमले नेपाली टिमको विषयमा पनि अध्ययन गरेकोले केहि अप्ठयारो भएको पनि बताए । तर उनले आफ्नो टिम र प्रत्येक खेलाडीमा पूर्ण विश्वास रहेको पनि स्पष्ट पारे ।
नेपाल साफ च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि दुवै पटक फाइनलमा पुग्दा नेपालले उपाधि जितेको थियो । यो पटक नेपाली टिम लयमा देखिएको छ । समुह चरणको दुई खेलमा श्रीलंकालाई १(० ले र बंगलादेशलाई २(१ ले हराएको थियो । सेमिफाइनलमा भुटानलाई टाइब्रकेरमा हराएर नेपाली टिम फाइनल पुगेको हो ।
नेपालले जारी च्याम्पियनसिपको समुह चरणमा बंगलादेशलाई २(१ ले हराइसकेको छ । यसले पनि नेपाललाई केहि सहज हुन सक्छ । सबैभन्दा ठुलो फाइदा भने खेल हुने एन्फाको एस्ट्रो टर्फ मैदान नै हुनेछ । नेपालले यही मैदानमा प्रशिक्षण गरेको हो ।
फाइनल दशरथ रङ्गशालामा हुने भनिएपनि हिजो एन्फाले मैदानको अवस्थाका कारण सातदोबाटोमा नै फाइनल हुने निर्णय गरेको थियो । मैदानको फाइदा रहने भएपनि दर्शकको साथको कमी महसुस हुने प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले टिमले पूर्ण क्षमता अनुसार खेल्न नसकेको पनि जिकिर गरे । उनले क्षमता अनुसार योजना अनुरूप खेलेमा जित निकाल्न सक्ने बताए ।