पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरूले धम्क्याएपछि पत्रकार दीर्घराज उपाध्यायलाई सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।
उपाध्यायद्वारा धनगढीका नागरिकहरूका तर्फबाट आएका गुनासाहरूको उठान गर्दै २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मङ्गलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरू भन्छन्, बाँच्न गाह्रो भयो, विष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।
दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरूले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई निवेदन दिएका हुन् । नेपाल पत्रकार महासंघ सुदूर पश्चिम समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले समाचार लेखेकै कारण पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिने र समग्र पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने कार्य लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताए ।