कार्तिक १९ धनगढी : पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा कार्यरत पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन । विश्वभरीका पशुचिकित्सकहरु मध्ये नेपालबाटडाक्टर जोशीलाई रेबिज अन्वेषण तथा नियन्त्रण कार्यमा उल्लेखनीय काम गरेको भन्दै सम्मान गरिएको हो ।
विश्व रेबिज दिवश २०२४ का अवसरमा “विश्व रेबिज दिवस अवार्ड” पाउने व्यक्तिको नाम सोमबार घोषणा गरिएको छ। रेबिज नियन्त्रणका लागि काम गर्ने ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोल र बोरिङ्गर इगेल्हिम नामक संस्थाहरुबाट विश्व रेबिज दिवश २०२४ को अवसरमा यहि सेप्टेम्बर २८ का दिन डाक्टर जोशीसहितका पशु चिकित्सक प्रारम्भिम छनौटमा परेका थिए। तत् पश्चात केही हप्ता विश्वव्यापी मतका लागि समय दिइएको र सोबमार रेबिज नियन्त्रणका लागि रेबिज शिक्षा विधा तर्फ डाक्टर जोशीलाई च्याम्पियन घोषणा गरिएको हो।
डाक्टर जोशीको समन्वयमा सुदूरपश्चिम प्रदेशमा रेबिज नियन्त्रणका लागि खोप, रेबिज रोगको सर्भिलेन्स, स्कुल शिक्षा, सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण लगायतका कार्य हुदै आएका छन्। गत वर्ष सुदूरपश्चिममा सुदूरपश्चिम प्रदेश सरकारका पशु सेवा तर्फका नियकायहरु, स्थानीय तहका पशु सेवा शाखा, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला लगायत यस प्रदेशमा कार्यरत पशु चिकित्सक र पशु सेवा प्राविधिकहरुबाट झण्डै ६ हजार स्कुले बालबालिकालाई रेबिज सम्बन्धी जानकारी दिइएको थियो भने यो वर्ष झण्डै २५ हजार भन्दा बढी बालबालिकालाई रेबिज सम्बन्धी जानकारी दिइएको छ। ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोल रेबिज नियन्त्रणका लागि विश्वव्यापीरुपमा काम गर्ने प्रमुख अन्तर्राष्ट्रिय संस्था हो। यस संस्थाको प्रमुख उद्देश्य सन् २०३० सम्मा कुकुरको टोकाईबाट मानिसमा हुने रेबिजलाई शून्यमा झार्ने रहेको छ।