दिपा न्यौपाने र कप्तान निरु थापाले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो अन्तरले पराजित गरेको छ ।शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले सुदूरपश्चिमलाई ९-० ले पराजित गरेको हो ।
पुलिसको जितमा कप्तान निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक गर्दा पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले एक(एक गोल थपे । पहिलो हाफमा तीन गोल गरेको पुलिसले दोस्रो हाफमा आधा दर्जन गोल थप्यो । एकपक्षिय बनेको खेलमा दीपाले ३१औं, ४६औं र ६०औं मिनेटमा गोल गरिन् । यस्तै निरुले नवौँ, ६९औं र ७८औं मिनेटमा गोल गरिन् । पुजाले ३०औं, घिमकुमारीले ७६औं र अनुषकाले इन्जुरी टाइममा गोल गरिन् ।जितपछि पुलिस दुई खेलबाट ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेलेको थियो ।
सुदूरपश्चिमको भने लिगमा यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग ५-१ ले पराजित भएको थियो । खेलाडी छनोटको क्रममा सुदूरपश्चिम पुटबल संघ र असन्तुष्ट खेलाडीहरु बीच विवाद चर्किदा यो नतिजा सुदूरपश्चिम प्रदेशले व्यहोरीरहेको हो ।
के हो विवाद ?
महिला लिगका लागि २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।

जबकी एउटा टिममा ३० जना खेलाडी राख्न पाउने प्रावधान छ । तर नयाँ प्रशिक्षक ल्याएको संघले पुनः खेलाडी छनोट गर्न खोजेको बुझेपछि खेलाडीहरुले विरोध गरे । उनीहरुले एक महिनादेखि प्रशिक्षण गराइरहेका सुरज तामाङलाई निरन्तरता दिनुपर्ने, बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौं लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग संघमा राखे । माग पूरा नभए सबैले नखेल्ने बताए । अध्यक्ष दिनेश श्रेष्ठ भने खेलाडीहरुलाई सुन्न तयार भएनन्, बरु नयाँ प्रशिक्षक दिनेश लामा योञ्जनले १४ भदौमा सेलेक्सन राखे र नयाँ टिम बनाए ।

एक महिना प्रशिक्षण गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गरेर नयाँ टोली र आफूहरुबीच एउटा खेल खेलाउन र जसले जित्छ, उसैलाई काठमाडौं लैजान समेत आग्रह गरेका थिए । तर नयाँ टिम नै काठमाडौं आयो । सोमबार बाग्मतीविरुद्ध खेल्ने क्रममा २६ जनामा रहेकी गोलरक्षक टिकेश्वरी साउद मात्रै खेलिन् । बाँकी सबै नयाँ खेलाडी खेलाइएको थियो ।
टिममा भएका खेलाडीहरुको तालमेल पटक्कै मिलेको थिएन । डिफेन्स लाइन सबैभन्दा कमजोर देखिएको थियो । तर सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष श्रेष्ठ भने कतिपय खेलाडीले पहिलो पटक खेलेकाले यो प्रदर्शन धेरै नै भएको बताउँछन् । उनका अनुसार अहिले पनि टोलीमा १२ जना खेलाडीको ठाउँ खाली छ । ‘हामी खेलाडीहरु खोजिरहेका छौं । बन्द प्रशिक्षणमा रहेका बैनीहरु आउँछन् भने टिममा राख्न तयार छौं’, श्रेष्ठले भने ।

स्रोतका अनुसार केही खेलाडी आउन पनि सक्छन् । तर धेरैले भने सुदूरपश्चिमको टिमबाट रिलिज (फुकुवा) मागेका छन् । त्यसो भएमा अरु प्रदेशको टिमबाट खेल्न सकिने उनीहरुको बुझाइ छ । अध्यक्ष श्रेष्ठ भने व्यवस्थापकीय कारणले पनि अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई रिलिज गर्न समय लाग्ने बताउँछन् । भन्छन्, ‘उनीहरुले भन्नेबित्तिकै त हुँदैन नि ?