You are currently viewing सुदूरपश्चिमकी कविता पिपल्स च्वाइसको मनोनयनमा

सुदूरपश्चिमकी कविता पिपल्स च्वाइसको मनोनयनमा

भाद्र ७ ,धनगढी

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयन सुचिमा ५ जना खेलाडी अटाएका छन् । क्रिकेटका गुलशन झा, राष्ट्रिय खेल भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम मनोनयनमा अटाएको छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२।५ प्रतिशत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए ।मनोनयनमा परेकी भलिबलकी भट्टको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित भात्काडा हो । विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन् ।

 

अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।गतवर्ष एपिएफले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप तथा टाइगर कपमा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो । केएनपी च्याम्पियनसिपमा उत्कृष्ट सर्भर भएकी उनी गएको वर्ष एपिएफ एनभिए कपमा उपविजेता बन्दा उत्कृष्ट ब्लकर चुनिएकी थिइन् ।

Leave a Reply