You are currently viewing सरकारद्वारा मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण

सरकारद्वारा मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण

२२श्रावण,२०८२ः सरकारले मनसुनजन्य विपदबाट प्रभावित दार्चुलाका तीन सय १६ घर पुनर्निर्माण गरिदिएको छ । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँका छ स्थानीय तहका तीन सय १६ घरधुरीको पुनर्निर्माण गरेको छ भने १२ घरधुरी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको विपद फाँट प्रमुख नायब सब्बा रामराज पन्तले जानकारी दिनुभयो ।

नेपाल सरकारअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ५० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र सम्बन्धित स्थानीय तहको २० प्रतिशत बजेटमा विपद् प्रभावित घरहरुको पुनर्निर्माण र पुनःस्थापना गरिएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ देखि यो कार्यक्रम देशैभरी लागू भएको उहाँले बताउनुभयो । दार्चुलामा कार्यक्रममार्फत आव २०७७÷७८ मा ३६ जनाको घर पुनर्निर्माण र १५ जनालाई पुनःस्थापना गरिएको छ । आव २०७८÷७९ मा तीन सय १६ जनाको घर पुनर्निर्माण र १२ जनाको घर पुनःस्थापना गरिएको उहाँले जानकारी दिनुभयो । आव २०७९÷८० र २०८०÷८१ मा एक सय जनाको घर पुनर्निर्माण गरिएको छ । यो अवधीमा नौगाड गाउँपालिकाका २६ र दुहुँ गाउँपालिकाका १९ जनाको घर पुनर्निर्माण र पुनःस्थापना गरीएको बताइएको छ । आव २०७७÷७८ का ५१ जनामध्ये ५० जनाको घर पुनर्निर्माण र पुनःस्थापना वापत प्रथम, दोस्रो र तेस्रो किस्ता गरी तीन करोड २० लाख रुपियाँ भुक्तानी गरिएको छ भने एक जनालाई दोस्रो किस्ता वाफत दुई लाख ४५ हजार रुपियाँ भुक्तानी गरिएको उहाँले बताउनुभयो ।

आव २०७८÷७९ देखि यताका लाभग्राहीलाई घर पुनर्निर्माण पुनःस्थापना वाफत कार्यसम्पन्नताका आधारमा प्रथम, दोस्रो र तेस्रो किस्ता वापतको रकम भुक्तानी भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहबाट कायम भएका लाभग्राहीहरुलाई घर पुनर्निर्माण लागि आठ लाख पचास हजार र पुनःस्थापनाका लागि पाँच लाख पचास हजार रुपियाँ उपलब्ध गराउँदै आइरहेको छ ।

विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममार्फत यहाँको नौगाड गाउँपालिकामा आठ घर पुनर्निर्माण र एक घरको पुनःस्थापना गरिएको छ । यस्तै महाकाली नगरपालिकामा २५ घर, ब्याँस गाउँपालिकामा १८ घरको पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । जिल्लाको दुहुँ गाउँपालिकामा दुई सय ५९ घर पुनर्निर्माण, ७ पुनःस्थापना, मालिकार्जुन गाउँपालिकामा चार घर पुनर्निर्माण, दुई पुनःस्थापना र मार्मा गाउँपालिकामा दुई घर पुनर्निर्माण र २ पुनःस्थापना गरीएको उहाँले जानकारी दिनुभयो । स्रोतःगोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply