असार १८,धनगढी / डिल्लीराज ओझा : सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु१९ महिला टि२० क्रिकेट प्रतियोगीतामा कञ्चनपुर फाइनलमा प्रवेश गरेको छ । बुधबार बैतडीलाई ८ विकेटले पराजित गर्दै कञ्चनपुर फाइनलमा प्रवेश गरेको हो । प्रतियोगीतामा अपराजित कञ्चनपुरले अब उपाधिका लागि दोश्रो सेमिफाइनल खेलिरहेको कैलाली र डडेल्धुराको विजेतासँग भोली खेल्नेछ ।
बैतडीले दिएको ६८ रनको झिनो लक्ष्य कञ्चनपुरले १२.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो । कञ्चनपुरलाई जित दिलाउन कप्तान कप्तान सावित्री धामीले उत्कृष्ट अलराउण्ड प्रर्दशन गरिन । उनले ब्याटिङ तर्फ अविजित २३ रन र बलिङ तर्फ ३ विकेट चट्काइन । उनी म्यान अफ दि म्याच पनि चुनिइन । आजको खेल समेत जोडेर सावित्री लगातार तेश्रोपटक म्यान अफ दी म्याच चुनिएकी हुन । त्यस्तै रेश्मी सुनारले अविजित १६ रनको योगदान दिइन । बैतडीको बलिङ राम्रो हुन सकेन । उस्का लागि कप्तान जानकी थापा र रेश्मा विष्टले समान एक एक विकेट लिनु बोक अन्य बलर विकेट विहिन रहे ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैतडीले खराब ब्याटिङ गर्यो । १४.५ ओभरमा अलआउट भएको बैतडीले मात्र ६७ रन बोर्डमा जोड्न सक्यो । उस्का लागि करिश्मा थापाले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको स्कोर समेत जोड्न सकेनन । बैतडीको ब्याटिङ लाइन धोस्त पार्न कञ्चनपुरकी कप्तान सावित्री धामी र पुनम जोशीले समान तीन तीन तथा गंगा खड्का तथा अर्चना चन्दले समान दुई दुई विकेट चट्काइन ।
अहिले कैलाली र डडेल्धुरा बीच दोश्रो सेमिफाइनल खेल चलिरहेको छ । यी दुई बीचको विजेता टोलीले उपाधिका लागि भोली प्रतियोगीताको अपराजित टिम कञ्चनपुरको सामना गर्नेछ । सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता भोली अर्थात असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ ।