You are currently viewing सुदूरपश्चिम फुटबल संघमा विवाद बल्झीदाको परिणाम पहिलो खेलमै लज्जास्पद हार

सुदूरपश्चिम फुटबल संघमा विवाद बल्झीदाको परिणाम पहिलो खेलमै लज्जास्पद हार

भाद्र १८,धनगढी

महिला लिगमा सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग ५–१ को हार बेहोर्‍यो । एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गर्दा सहारा लिम्बु र आरती भुजेलको नाममा १-१ गोल रह्यो । सुदूरपश्चिमका लागि एक मात्र सान्त्वना गोल निर्धारित समयको अन्तिम मिनेटमा तुलसा बोहराले गरिन् । खेल अवधिभर सुदूरपश्चिम निकै कमजोर देखिएको थियो । खेलाडीहरुबीच तालमेल समेत राम्रो थिएन ।

अञ्जली चन्द ः सुदूरपश्चिम महिला फुटबल टिमकी सदस्य

प्रशिक्षक दिनेश लामा योञ्जन पहिलो रोजाइको टिम नहुँदा धेरै गाह्रो भएको बताउँछन् । ‘टिम र संघको विवादका कारण दुई दिनमा मैले यो टिम लिएर आएको हुँ’, पहिलो खेलपछि योञ्जनले भने, ‘पहिलो रोजाइको टिम भएको भए धेरै सहज हुने थियो ।’

के हो विवाद ?

महिला लिगका लागि २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल संघले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौं लगिने जानकारी गरायो ।

       दिनेश श्रेष्ठ ः अध्यक्ष सुदूरपश्चिम फुटबल संघ

जबकी एउटा टिममा ३० जना खेलाडी राख्न पाउने प्रावधान छ । तर नयाँ प्रशिक्षक ल्याएको संघले पुनः खेलाडी छनोट गर्न खोजेको बुझेपछि खेलाडीहरुले विरोध गरे । उनीहरुले एक महिनादेखि प्रशिक्षण गराइरहेका सुरज तामाङलाई निरन्तरता दिनुपर्ने, बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौं लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग संघमा राखे । माग पूरा नभए सबैले नखेल्ने बताए । अध्यक्ष दिनेश श्रेष्ठ भने खेलाडीहरुलाई सुन्न तयार भएनन्, बरु नयाँ प्रशिक्षक दिनेश लामा योञ्जनले १४ भदौमा सेलेक्सन राखे र नयाँ टिम बनाए ।

एक महिना प्रशिक्षण गरेका खेलाडीहरुले पत्रकार सम्मेलन गरेर नयाँ टोली र आफूहरुबीच एउटा खेल खेलाउन र जसले जित्छ, उसैलाई काठमाडौं लैजान समेत आग्रह गरेका थिए । तर नयाँ टिम नै काठमाडौं आयो । सोमबार बाग्मतीविरुद्ध खेल्ने क्रममा २६ जनामा रहेकी गोलरक्षक टिकेश्वरी साउद मात्रै खेलिन् । बाँकी सबै नयाँ खेलाडी खेलाइएको थियो ।

 सुदूरपश्चिमका असन्तुष्ट महिला खेलाडीहरु पत्रकार         सम्मेलन गर्दै

टिममा भएका खेलाडीहरुको तालमेल पटक्कै मिलेको थिएन । डिफेन्स लाइन सबैभन्दा कमजोर देखिएको थियो । तर सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष श्रेष्ठ भने कतिपय खेलाडीले पहिलो पटक खेलेकाले यो प्रदर्शन धेरै नै भएको बताउँछन् । उनका अनुसार अहिले पनि टोलीमा १२ जना खेलाडीको ठाउँ खाली छ । ‘हामी खेलाडीहरु खोजिरहेका छौं । बन्द प्रशिक्षणमा रहेका बैनीहरु आउँछन् भने टिममा राख्न तयार छौं’, श्रेष्ठले भने ।

स्रोतका अनुसार केही खेलाडी आउन पनि सक्छन् । तर धेरैले भने सुदूरपश्चिमको टिमबाट रिलिज (फुकुवा) मागेका छन् । त्यसो भएमा अरु प्रदेशको टिमबाट खेल्न सकिने उनीहरुको बुझाइ छ । अध्यक्ष श्रेष्ठ भने व्यवस्थापकीय कारणले पनि अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई रिलिज गर्न समय लाग्ने बताउँछन् । भन्छन्, ‘उनीहरुले भन्नेबित्तिकै त हुँदैन नि ?

Leave a Reply