असोज २३,धनगढी: नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली मध्येको एक हो सुदूरपश्चिम रोयल्स । स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्समा ७ जना सुदूरपश्चिम कै खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । गत असोज २० गते काठमाण्डौंमा सम्पन्न अक्सनबाट सुदूरपश्चिम रोयल्सले अनुभवी खेलाडी विनोद भण्डारी र नरेश बुढाऐरलाई अक्सन मार्फत टिममा भित्र्याएको हो । त्यसैगरी सुदूरपश्चिम कै युवा खेलाडीहरु खडक बोहोरा,भोजराज भट्ट र नरेन साउँलाई पनि सुदूरपश्चिम रोयल्सले टिममा समावेश गरेको छ । केहिदिन अगाडी सम्पन्न मार्की खेलाडी छनोटमा पनि संयोगबस सुदूरपश्चिम कै खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम रोयल्समा छनोट भएका थिए । अब सुदूरपश्चिम रोयल्सले ४ विेदेशी खेलाडी र एउटा स्थानीय खेलाडी छनोट गर्नेछ । अक्सन मार्फत सुदूरपश्चिम रोयल्समा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आरिफ शेख,बलर अबिनास बोहोरा,यु -१९ स्टार खेलाडी अर्जुन कुमाल,इसान पाण्डेय र अमित श्रेष्ठलाई टिममा समावेश गरेको हो ।
खेलाडी मात्रै नभएर व्यवस्थापनमा पनि सुदूरपश्चिम रोयल्सले सुदूरपश्चि प्रदेश कै व्यक्तिहरुलाई प्राथमिकता दिएको छ । सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा अनुभवि जगत टमाटालाई नियुक्त गरिएको छ । त्यस्तै गत साता मात्र ओलम्पियन दीपक विष्ट टोलीको ब्रान्ड एम्बेसडर नियुक्त भएका थिए । सुदूरपश्चिम रोयल्सले व्यवस्थापनमा कुशल ठहरिएका प्रकाश खड्कालाई सिइयोको जिम्मेवारी सुम्पिएको छ । प्रकाश खड्का तिनै व्यक्ति हुन जस्ले नेपालको पहिलो अक्सन क्रिकेट धनगढी प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । मंगलबार मात्रै सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
अष्टेलियाको क्वीन्सल्याण्डमा बसेर लामो समदेखि क्रिकेटजन्य गतिविधिमा सकृय स्वतन्त्र प्रताप शाहले आफ्नो जन्मभूमिप्रतिको प्रेम र सद्भावले नेपाल प्रिमियर लिग मार्फत सुदूरपश्चिम रोयल्समा आबद्ध भएको बताएका छन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते देखि एनपिएलको पहिलो संस्करण काठमाण्डौमा सुरु हुँदैछ । एनपिएलमा कर्णाली याक्स,लुम्बिनी लायन्स,चितवन राइनोज,विराटनगर किङ्स,जनकपुर बोल्ट,काठमाण्डौं गोर्खाज,पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम सामावेश छन ।




