फाल्गुन १८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ८ मा रहेको सुभारम्भ मन्टेश्वरी स्कुलले आफ्नो ५ औ वार्षिक उत्सव तथा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार मन्टेश्वरी स्कुलका संस्थापक प्रिन्सिपल जानकी भट्टको अध्यक्षता तथा धनगढीउपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीको प्रमुख प्रमुख आतिथ्यमा एक समारोहका विच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले भविष्यको मूल आधार बालबालिकाहरुका पक्षमा सकारात्मक, सिर्जनात्मक र व्यवहारिक दिशानिर्देशका साथ सहज वातावरणमा शिक्षासँगै संस्कारको पाठ सिकाउन आवश्यक रहेको बताए । उनले उचित संस्कार, रहनसहन, बोली व्यवहारका साथै शिक्षामा नविनताको खोजी गरेर २१औं शताब्दीका लागि विद्यार्थीहरु तयार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिरथि प्याब्सन धनगढीका नगर सभापति धुब्र सिंहले बालबालिका सबल र सक्षम भए देशको जग बलियो हुने बताए । उनले बलियो जगको आडमा मात्र असल र राम्रा काम गर्न सकिने भएकोले बालबालिकालाई सक्षम र धारिलो बनाउन शिक्षासँगै संस्कार र संस्कृतिको पाठ पढाउन जरुरी रहेको जानकारी दिए ।
सुभारम्भ मन्टेश्वरी स्कुलले तालिम प्राप्त शिक्षिकाहरुद्वारा मन्टेश्वरी विधिबाट विद्यार्थीहरुलाई पढाईरहेको संञ्चालक मोहन राज ओझाले जानकारी दिए । खेलको विधिबाट शिक्षण सिकाई र सीप विकासमा ध्यान दिने गरिएको मन्टेश्वरी विद्यालयमा बालबालिकाको आहार, अनुशासन, शिक्षा, संस्कार, चाडपर्व, जन्मदिनलाई समेत मध्यनजर गर्दै विभिन्न समारोहको आयोजना हुने गरेको उनको भनाई छ । विद्यार्थीहको चौतर्फी विकासका लागि पढाइसँगै मौलिक चाडपर्व, रीतिरिवाज तथा संस्कारका कार्यक्रमहरु विद्यालयले गर्दै आएको उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरुका फरक फरक समुहले नृत्य, लगायत विभिन्न सिर्जनात्मक प्रस्तुती राखेका थिए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट बनेका विद्यार्थीलाई प्रमुख अतिथि चौधरी र विशिष्ठ अतिथि प्याब्सन धनगढी नगरकमिटि कोषाध्यक्षमा योगेन्द्र सिंह लगायत पुरस्कार स्वरुप मेडल प्रदान गरे ।