५भाद्र,२०८२ः बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट अभियानको शुभारम्भ गरेका हुन् । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै कार्यक्रम सुरु गरे । उनले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ र मेधावी पुस्ता निर्माण गर्न यस कार्यक्रमले सहयोग गर्ने बताए ।
मन्त्री पौडेलले भने, स्वर्ण बिन्दु प्राशन हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा आधारित कार्यक्रम हो।यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्य प्रणालीसँग जोड्दा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा योगदान पुग्छ ।रोग लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्ने स्वास्थ्य प्रणाली विकास गर्नु सरकारको प्राथमिकता हो। आगामी पुस्ता निरोगी बनाउने हाम्रो लक्ष्यअनुरूप यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.श्यामबाबु यादवका अनुसार स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन्।यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ।
त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ।शुद्ध मह आफैंमा एक प्राकृतिक जीवाणुरोधी तत्व हो, जसले संक्रमणबाट बचाउँछ।यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा प्रभाव पार्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?