कार्तिक ५ धनगढी: नेपालले अमेरीका विरुद्धको तेश्रो टि-२० खेल जित्दै टि-२० आइ सिरिज ३ -० ले क्लिन स्वीप गरेको छ । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो । पहिलो खेलमा नेपालले अमेरीकालाई १७ रनले पराजित गरेको थियो भने दोश्रो आइतबार अत्यन्तै रोमाञ्चकारी मुडमा आएर टुङ्गियो । दोश्रो खेलमा नेपालले अमेरीकालाई सुपर ओभरमा पराजित गर्यो ।

तेश्रो टि-२० आइमा अमेरीकाको डल्लास स्थित ग्राण्ड पेरी मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरीकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो अमेरीकाका लागि सैतेजा मुकामालले ६८ रनको उत्कृष्ट पारी खेले । त्यस्तै मिलन्द कुमारले ४३ रनको अविजित पारी खेले अन्य ब्याट्सम्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका कामीले मात्र २७ रन खर्चदै ३ विकेट चट्काए । ललित नारायण राजवंशी र रिजन ढकालले समान १ / १ विकेट लिए । १५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.४ ओभरमा ८ विकेटले खेल जित्दै एकपटक पुनःइतिहास रचेको छ । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । त्यस्तै कुशल मल्ल ४४ रन र कुशल भुर्तेल ४० रनमा अविजित रहे । ओपनर अनिल शाहले १३ रनको योगदान दिए ।

अमेरीकाका कुनैपनि बलरले सम्झनलायक प्रर्दशन गर्न सकेनन । अमेरीकाका लागि हुवानॉय ड्राइसडे र जस्दिप सिंहले समान १ / १ विकेट लिए । अन्य बलर विकेट विहिन रहे । टि-२० आइ सिरिज क्लिन स्वीप गरेसँगै अब टिम नेपालको नजर एकदिवसियमा रहनेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ । एक दिवसियमा नेपाल र अमेरीका थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि–२० आइमा भने यो पहिलो सिरिज हो ।