जेठ २१,धनगढी : आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेपालले २ सय २६ रनको लक्ष्य पाएको छ । स्कटल्याण्डको फोर्थहिल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स २ सय २५ रनमा अलआउट भएपछि नेपालले २२६ रनको लक्ष्य पाएको हो ।

नेदरल्याण्ड्सका लागि नोहा क्रसले ४८, कप्तान स्कट एडवाड्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन(क्याचेटले २७, रोएलफ भ्यान डेर मेर्वेले २१ र तेजा निदामानरुले १३ रन जोडे ।नेपालका लागि बलिङमा सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र करण केसीले दुईरदुई विकेट लिए । नेपालले एक विकेट रन आउटको रूपमा प्राप्त गर्यो ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।नेपालले आजको खेलमा प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नेदरल्याण्ड्सविरुद्ध रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई मौका दिएको हो ।

ओडिआईमा नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म पाँच खेल भएका छन्, जसमा नेदरल्याण्ड्स तीन तथा नेपाल दुईपटक विजयी भएको छ ।सन् २०२७ सम्म चल्ने लिग–२ प्रतियोगिता विश्वकप छनोटसँग जोडिएको छ । शीर्ष ४ मा पर्ने टोली ग्लोबल छनोटमा सिधै पुग्नेछन्, पुछारका चार टोली भने प्लेअफ खेल्न बाध्य हुनेछन् ।

हाल नेपाल १३ खेलमा ८ अंकसहित सातौं स्थानमा छ । नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?