पौष ३,धनगढी : कर्णाली याक्सका ३ ब्याटरले उत्कृष्ट प्रर्दशन गर्दा इलिमिनेटरमा चितवन राइनोजलाई १७६ रनको विशाल लक्ष्य पेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको छ । कर्णाली याक्सका लागि ओपनर जयकिशन कोल्सावालाले अर्धशतक बनाएका छन् । ५३ रन बनाएका उनले ६ चौका र दुई छक्का प्रहार गरे । एनपीएलमा पहिलो खेल खेलिरहेका कोल्सावालाको यो पहिलो अर्धशतक समेत हो । त्यस्तै विलियम बसिस्टोले ३९ बलमा ५२ रनको अर्धशतकिय पारी खेले । चाँडविक वाल्टनले पनि ४६ रनको उत्कृष्ट अविजित पारी खेले ।
चितवन राइनोजका सोहिल तनवीरले २ विकेट लिए । सबै खेलमा विकेट लिएका देब्रे हाते बलर रिजन ढकाल विकेट विहिन रहे । यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।