मंसिर २०,धनगढी
नेपाल प्रिमियर लिगमा आफ्नो दोश्रो खेल खेलिरहेको पोखरा एभेन्जर्सले जनकपुर बोल्टस विरुद्ध कमजोर ब्याटिङ गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३८ रन बनाउन सक्यो । पोखराका लागि म्याट क्रिट्ले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कीले २५ तथा एन्ड्रिज गौंसले २० रनको योगदान दिए । विदेशी खेलाडीहरुले केहि राम्रो प्रर्दशन गरेपनि नेपाली खेलाडीले राम्रो प्रर्दशन गर्न सकिरहेका छैनन ।
कप्तान कुशल भुर्तेलले आज पनि खराब प्रर्दशनलाई निरन्तरता दिए । उनले मात्र ६ बलमा ६ रन बनाए । दिनेश खरेलले १०,दिलिप नाथले ११ र नारायण जोशीले ५ रन बनाए । जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए । त्यस्तै जिमी निसाले २ तथा किशोर महतो र मोहमद मोसिनले एक विकेट लिए । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुँदै जित विहिन छ भने जनकपुरले सुरुवातका दुइ खेलमा जित निकाल्दै लगातार तेश्रो जितको खोजीमा छ ।