You are currently viewing PM CUP : अध्यक्ष र सचिवको जुँगाको लडाइको असर नतिजामा,कर्णाली विरुद्ध सुदूरपश्चिम ७६ रनमै समेटियो

PM CUP : अध्यक्ष र सचिवको जुँगाको लडाइको असर नतिजामा,कर्णाली विरुद्ध सुदूरपश्चिम ७६ रनमै समेटियो

फाल्गुन २५,धनगढी: लुम्बनी प्रदेशमा आइतबारबाट सुरु भएको घरेलु किक्रेटको सबैभन्दा ठूलो प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेश विरुद्ध ७९ रनको लज्जासपद हार व्यहोरेको छ ।

दाङको लमही क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै समेटियो । सुदूरपश्चिमका लागि खडक बोहराले २७ तथा किरण ठगुन्ना र शेर मल्लले समान १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका लागि दीपेन्द्र रावतले ९ ओभरमा तीन मेडनसहिच ३३ रन खर्चिएर सात विकेट लिए । यसैगरी कप्तान दिवान पुनको नाममा दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९४ बलमा साता तीन चौका र छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी दिनेश अधिकारीले १७ र दिवान पुनले १२ रन बनाए । सुदूरपश्चिमका लागि हेमन्त धामीले चार, कप्तान नारायण जोशीले दुई तथा शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले समान एक विकेट लिए ।

अध्यक्ष बाशुदेव जोशी र सचिव लक्ष्मण भट्टको जुँगाको लडाइले टिम धरासयी
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोट सौहार्दपूर्ण तरिकाले चलिरहेको थियो । फाल्गुन २२ गते कैलालीले बैताडीलाई पराजित गर्दै उपाधि जित्यो । प्रतिक्षा थियो टिम घोषणाको । जब प्रदेशको टोली छनोटको समय नजिकियो त्यसपछि पुन कहाँ के के खिचडी पाक्यो ? कस्का मान्छे हाल्नुपर्ने थियो ? कस्का मान्छे हटाउनुपर्ने थियो ? कस्को भविष्य बनाउनु थियो ? कस्को भविष्य बर्वाद पार्नुथियो ?

२३ गते राति
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेश जोशीको हस्ताक्षर सहितको एउटा टोली घोषणा भयो ।जस्मा नारायण जोशीलाई कप्तान बनाइएको थियो । भने टेक रावत,प्रकाश पाण्डेय,किरण कुमार ठगुन्ना,मिलन बोहरा,विकास आग्री,शेर मल्ल,निश्चल क्षेत्री,सुनिल चन्द,सौर्य श्रेष्ठ,भोजराज भट्ट,खडक बोहरा,राहुल भण्डारी र अर्जुन बिक गरी १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको छ । ४ जना वैकल्पिक खेलाडी बसन्त खत्री,हिक्मत महरा,सचिन भट्ट र गजेन्द्र भण्डारीको नाम उल्लेख छ । टिम व्यवस्थापकमा सन्तोष भट्ट,मुख्य प्रशिक्षक दिपेन्द्र बहादुर चन्द र टिम टे«नर साजन गौतमको नाम राखिएको थियो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेश जोशीको हस्ताक्षर सहितको एउटा टोली घोषणा

२४ गते बिहान
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा खेलाडी छनौट एकलौटी रूपमा भएको आरोप लगाउँदै सचिव लक्ष्मण भट्टको हस्ताक्षर भएको एउटा विज्ञप्ती जाारी भयो । विज्ञप्तीमा शुक्रबार सार्वजनिक टोलीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले संघको लेटरहेड दुरुपयोग गर्दै एकलौटी रूपमा खेलाडी छनौट गरेको आरोप सचिव भट्टले लगाएका थिए । उनले फागुन ११ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन भएको प्रदेश छनौट प्रतियोगितापछि अध्यक्ष जोशीले प्रादेशिक क्रिकेट संघको सचिवालय र छनौट समितिसँग सहमति र परामर्श नगरी पुर्वाग्रही रूपमा खेलाडी र अफिसियलको नाम सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । छनौट प्रतियोगिताबाट खेलाडीहरूको प्रदर्शन,अनुशासन,खेल भावना तथा टिमको आवश्यकताअनुसार पारदर्शी,निष्पक्ष र सर्वस्वीकार्य रूपमा प्रदेश टिम छनौट हुनुपर्नेमा सो को वेवास्ता गरि गैरजिम्मेवार ढंगले संघको लेटरहेडमा टिमको नाम प्रकाशन भएकोमा आश्चर्यचकित भएको विज्ञप्तिमार्फत जनाएको छ । अपारदर्शी छनौट प्रक्रियाको २४ घण्टाभित्र अध्यक्ष जोशीलाई आत्मआलोचनासहित संघको सचिवालयसंग समन्वय गर्न अनुरोध गरिएको छ। अन्यथा नियमानुसार छनौट प्रक्रियाको पुनः समीक्षा गरि प्रादेशिक क्रिकेट संघको टिम प्रकाशन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । यो विज्ञप्ती बारे अध्यक्ष जोशीले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएनन ।

 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव भट्टले निकालेको विज्ञप्ती

त्यसपछि २४ गते नै सचिब भट्टले अर्को विज्ञप्ती जारी गर्दै शेर मल्लको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरे । जस्मा अध्यक्ष हस्ताक्षरित विज्ञप्तीमा कप्तान बनाइएका नारायण जोशीको नाम समावेश छैन भने वैकल्पिक सुचिमा रहेका बसन्त खत्रीको नाम पनि हटाइएको देखिन्छ तर वैकल्पिक सुचिमै रहेका सचिन भट्टलाई भने टिममा समावेश गराइएको छ । त्यस्तै रोशन साउँद र सुमित बुडाललाई वैकल्पिक सुचिमा समावेश गरेको छ । अरु खेलाडीहरुमा भने माथि उल्लेख गरेकै नाम छन । त्यस्तै टिम टे«नर भनेर राखिएका साजन गौतमको नाम पनि हटाइएको छ ।

 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव भट्ट हस्ताक्षरीत टोली घोषणा

किन भयो जुगाँको लडाई ?
श्रोतका अनुसार अध्यक्ष बाशुदेव जोशी लगायतले नारायण जोशीलाई कप्तान बनाउन चाहेको तर सचिव लक्ष्मण भट्ट र चिफ सेलेक्टेर दिपेन्द्र भण्डारी लगायतले बसन्त खत्रीलाई कप्तान बनाउन खोज्दा विवाद सतहमा आएको बताइएको छ । स्रोतले भन्यो बसन्त खत्रीले प्रदेश स्तरीय छनोटमा राम्रै खेलेको र कप्तान नबनाइएपनि टिममा समेटिनुपर्ने थियो त्यसो हुन सकेन त्यसपछि सचिव भट्टले असन्तुष्टि पोख्दै आएका थिए । श्रोतका अनुसार नारायण जोशीको पछिल्लो ७÷८ महिनादेखि प्रर्दशन राम्रो नभएको र उनी टि२० स्पेशल खेलाडी भएकाले एकदिवसीयमा उनलाई भरसक नराखौं भन्ने थियो तर अध्यक्षले पेलेरै अगाडी बढेपछि विवाद बल्झिएको बताइएको छ ।
खेलाडी छनोटमा अध्यक्ष जोशी र सचिव भट्ट बीच यु १९ राष्ट्रिय प्रतियोगीताको छनोटका बेलामा पनि मतभेद देखिएको थियो । गत कार्तिकमा सुरुमा सचिब भट्टले १८ जना खेलाडी बन्द सत्रमा बोलाईको विज्ञप्ती जारी गरेका थिए भने पछि अध्यक्ष जोशी हस्ताक्षरित विज्ञप्तीमा थप ६ जना खेलाडीलाई बन्द सत्रमा बोलाइएको थियो । पछि थपिएका छ मध्ये अशोक धामी र दिपक रोकायाले उत्कृष्ट प्रर्दशन गरे टिम सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई फाइनलमा हराउँदै उपाधि उचालेको थियो ।

खेलाडी विवाद बारे हामीले अध्यक्ष,सचिव र चिफ सेकेक्टरसँग बुझ्दा अध्यक्ष बाशुदेव जोशीले आफूले सेलेक्टर कमिटले सिफारिस गरेकै खेलाडीहरुबाट टिम छनोट गरेको र सचिव भट्टको दम्भका कारण बेकारमा आफूलाई विवादमा ल्याउन खोजेको बताए । सचिव लक्ष्मण भट्टसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने ह््वाट्सयापमा सोध्दा कुनै प्रतिक्रिया आएन । त्यसैगरी छनोट कमिटिका संयोजक दिपेन्द्र भण्डारीसँग बुझ्दा उनले आफूहरुले अध्यक्ष र सचिवसँग बसेर टिम फाइनल गरौं भन्दा अध्यक्षले नमानेको बताएका छन । उनले सबैजना मिलेर टिम छनोट गरौं भनेको हुँ अहिले विवाद आयो यसको म्यासेज बाहिर राम्रो नगभएको बताएका छन ।

आइतबार दाङमा के के भयो ?
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारबाट लुम्बिनी प्रदेशका तीन रंगशाला एष्टा«टेक ओभल,सिद्र्धार्थ रंगशाला र देउुखुरीमा एकसाथ उद्घाटन भयो । पहिलो खेलमा सुदूरपशिचमले खराब प्रर्दशन मात्रै गरेन प्रतियोगीताकै कमजोर मान्दै आएको कर्णाली विरुद्ध लज्जासपद हार व्यहोर्यो । कर्णाली विरुद्ध १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै समेटियो ।

खेल हेर्दा सुदूरपश्चिमका खेलाडीमा मनोवैज्ञानिक असर परेको देखिन्थो । अलग अलग खेलाडी कप्तान भएको दुइ टोली घोषण भएपछि नेपाल क्रिकेट संघ क्यान पनि दोधारमा परेको थियो । विवाद सतहमा आएपछि उस्ले आफ्नो अफिसियल फेसबुक पेजमा अहिलेसम्म सुदूरपश्चिम प्रदेशको खेलाडी लिष्ट पोष्ट गरेको छैन । आइतबारको खेलमा भने अध्यक्ष जोशीले हस्ताक्षर गरेको लिष्टमा रहेका कप्तान नारायण जोशीले नै कप्तानी गरेका थिए ।

पहिलो गासमा ढुंगा भनेझैं धनगढीबाटै मनौवैज्ञानिक रुपमा दवावमा रहेका सुदूरपश्चिमका खेलाडीहरु अब आगामी खेलहरुमा कसरी एकजुट भएर खेल्नेछन त्यो भने हेर्न बाँकी छ । अघिल्लो पिएम कपमा पनि खेलाडी खेलाडीहरु बीच एकआपसमा र अफिसियका बीचमा पनि चरम मतभेद रहँदा नतिजा सोचेजस्तो नआएको नाम नभन्ने सर्तमा एक खेलाडी बताए । उनले भने हामी राम्रो नतिजा ल्याउन सक्थ्यौं खेलाडीहरु बीच आपसमा तालमेल र एकता नहुँदा हामी पुछारमा पुग्यौं यसपटक म त टिममा छैन तर राम्रो नतिजाको कामना गर्दछु उनले भने । अघिल्लो वर्ष उत्कृष्ट चार भित्र अटाउन नसक्दा सुदूरपश्चिम प्रदेशले विरगञ्जमा सम्पन्न भएको ट्रफी गुमाउनु पर्यो । हाम्रा लागि प्रदेशका सबै खेलाडी र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सबै पदाधिकारी सबै समान हुन । हामीसँग आएको सत्यतथ्य सूचना आम नागरिक माझ सम्प्रेषण गर्नेछौं ।

हाम्रो कसैप्रति आग्रह पूर्वाग्रह छैन तर उदाउँदै गैरहेको देशको क्रिकेट र क्रिकेटमै भविष्य खोजिरहेका हजारौं सुदूरपश्चिमेली युवाहरुको भविष्यमाथि यदि कसैको जुगाँको लडाँइको असर पर्यो भने त्योचाँहि फेरी अन्याय नै हुन्छ । त्यसको नतिजा सम्बन्धित निकाएले भोग्नुपर्नेछ । हामी चाहान्छौं सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका पदाधिकारीहरुले गम्भिर रुपमा आत्मसमिक्षा गरुन,अनि खेलाडीहरुले पनि इगो त्यागुन र सबै मिलेर सुदूरपश्चिमको क्रिकेट विकास र विस्तारमा टेवा पुर्याउन ।

धन्यवाद
जय सुदूरपश्चिम
जय क्रिकेट

Leave a Reply