चैत्र १२,धनगढी : सुदूरपश्चिम प्रदेश मधेश प्रदेशसँग ४४ रनले पराजित भएको छ । लुम्बिनी प्रदेशको एक्स्ट्राटेक ओभल मैदानमा सम्पन्न प्रतियोगीताका अन्तिम खेल खेलेको सुदूरपश्चिम ५८ रनमै अलआउट भयो । मधेश प्रदेशले दिएको १०३ रनको झिनो लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २९ ओभरमा मात्र ५८ रन बनाएर सबै विकेट गुमायो । सुदूरपश्चिमका ५ ब्याटर ० रनमा आउट भए ।
टेक रावत १७ बलमा ३ रन,प्रकाश पाण्डेय १ बलमा ० रन,निश्चल क्षेत्री १ बलमा ० रन,किरण ठगुन्ना २ बलमा ० शेर मल्ल ९ बलमा ० रन,अर्जुन बिक ३३ बलमा ९ रन,मिलन बोहरा १ बलमा ० रन ,कप्तान नारायण जोशी ६ बलमा ६ रन,हेमन्त धामी ३३ बलमा १९ रन,सार्य श्रेष्ठ ४१ बलमा ८ रन अविजित र विकास आग्री ३१ बलमा ६ रन बनाउन पुगे । सुदूरपश्चिको ब्याटिङ लाइन ध्वस्त पार्न मधेशका विशाल पटेलले ६ विकेट चट्काए । त्यस्तै प्रदिप पासवानले ३ तथा रुपेश सिंहले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४२।३ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनायो । प्रदिप पासवानले सर्वाधिक २३ तथा पवन सर्राफले १९ रन बनाए । दिपेश दास र रुपेश सिंहले समान १२ रन बनाए । मधेशलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले किर्तिमानी बलिङ गरे । १० ओभर बलिङ गरेका मल्लले ६ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । प्रधानमन्त्री कपको इतिहासमा यो नै सबैभन्दा किफायती बलिङ फिगर हो । यसअघि यो रेकर्ड गण्डकी प्रदेशका बिपिन खत्रीको नाममा थियो, उनले गत वर्ष सुदूरपश्चिम विरुद्ध १० ओभर बलिङ गर्दै ४ मेडन राखेर ९ रन खर्चदै ३ विकेट लिएका थिए। सुदूरपश्चिमका लागि हेमन्त धामीले पनि किफायती बलिङ गरे । ५.३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । विकास आग्री र कप्तान नारायण जोशीको नाममा समान एक एक विकेट रह्यो ।
सुदूरपश्चिमले राम्रो नेटरनरेटमा यो खेल जितेको भए शीर्ष ४ मा पर्ने सम्भावना कायमै थियो । दुर्भाग्यबस त्यो हुन सकेन । अब भने प्रतियोगीताका एक खेल्न बाँकी मधेश र सबै खेल खेलिसकेको सुदूरपश्चिम शीर्ष ४ को होडबाट पनि बाहिरिसकेका छन । अंकतालिकाको शीर्ष स्थानमा १६ अंकका साथ नेपाल पुलिस क्लब,१४ अंकका साथमा त्रिभुवन आर्मी र तेश्रो स्थानमा एपिएफ क्लब रहेका छन । चौथो स्थान अहिलेसम्म बाग्मतीले सुरक्षित गर्न सकेको छ । सुदूरपश्चिम अंक तालिकाको सातौं र मधेश प्रदेश आठौं नम्बरमा रहेका छन । १० टोली सहभागी प्रतियोगीतामा अंक तालिकाको शीर्ष स्थानमा रहेका २ टोली उपाधिका लागि भिड्नेछन ।