माघ २,धनगढी : प्रधानमन्त्री कप टी२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो। जितसँगै एपिएफ दुई खेलबाट चार अंकका साथ शिर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो।
पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो। धनगढीस्थित फाप्ला मैदानमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। एपिएफको जितमा कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक २६ रन बनाइन्। ममता चौधरी १८ र राजमती ऐरी आठ रनमा आउट हुँदा रोमा थापा १४ रनमा अविजित रहिन्। गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन्।
त्यसअघि टस हारेर ब्याटिङ थालेको गण्डकीले १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो। खराब मौसमका कारण खेलको पाँच ओभर घटाइएको थियो।गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन्। रेखा तामाङ १७ र श्रेया शाही १३ रन जोडिन्।बलिङमा एपिएफकी बिनु बूढामगरले दुई विकेट लिइन्। उनी प्लेयर अफ द म्याच समेत चुनिइन्।