धनगढी उपमहानगरपालिका–१२ जुगेडामा निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। मनकामना युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धनगढी–७ स्थित नमोबुद्ध युवा क्लबले विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलमा नमोबुद्ध युवा क्लबले फारवेष्ट पशुपति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो। आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत माघ ४ गते फाप्फा एफसी र न्यू बुद्ध युवा क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

धनगढी–१२ वडा कार्यालयको व्यवस्थापन तथा निर्सग अस्पतालको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष फुटबलतर्फ ७ टिम र भेट्रानतर्फ ४ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा पुरुषतर्फको विजेताले रु १ लाख ३५ हजार र उपविजेताले रु ७० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रानतर्फ विजेता टिमलाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

सातौं संस्करणको प्रतियोगिताको उद्घाटन प्रदेशका सामाजिक विकास मन्त्री मेखराज खड्काले गरेका हुन्। क्लबका अध्यक्ष कृष्णराज पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष डबल थापाले स्वागत मन्तव्य राख्दै मनकामना युवा क्लबले प्रदेश सरकारबाट हालसम्म कुनै सहयोग नपाएको गुनासो गरे। उनले संघीय तथा स्थानीय सरकारको सहयोगमा प्याराफिटसहितको खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउँदै आगामी वर्षको बजेटमा प्रदेश सरकारबाट सहयोगको माग गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले बदलिँदो राजनीतिक परिस्थितिमा आफू मन्त्री पदमा कायम रहे आगामी वर्ष क्लबलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, क्लबका अध्यक्ष पाण्डेले मनकामना युवा क्लबले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रतियोगिता आयोजनासँगै दैनिक ७० भन्दा बढी खेलाडीलाई नियमित प्रशिक्षण दिइँदै आएको जानकारी गराए।

कार्यक्रममा प्रदेश नीति आयोगका सदस्य नृप बहादुर सुनार,बद्रीकन्ता मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष कमला जोशी,सदस्य गोकर्ण जोशी,कैलाली जिल्ला फुटबल संद्धका महासचिव ललित मिश्र लगायत सयौं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?