१ भाद्र २०८३,धनगढी : आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४ देखि विश्वभर प्रदर्शनमा आउने भएको छ ।निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर ‘बा एक योद्धा’ दर्शकमाझ ल्याउन लागिएको बताए ।

निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’ केवल एउटा चलचित्र मात्र नभई हरेक परिवारले अनुभूति गर्ने बुवाको संघर्ष, त्याग र प्रेमको कथा हो ।
‘हामीले एउटा यस्तो चलचित्र बनाउने प्रयास गरेका छौं, जसले दर्शकलाई आफ्नै परिवार र आफ्ना सम्बन्ध सम्झन बाध्य बनाओस्,’ निर्माता लम्सालले भने, ‘चलचित्र हेरेर एउटा परिवारमा बाको योगदान कति हुन्छ ? त्यसको महशुस हरेक सन्तानलाई महशुस गराउने कोशिस गरेका छौ ।’
हरि लम्सालको निर्देशन रहेको चलचित्रमा उनले कथा तथा पटकथासमेत तयार पारेका छन् । डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा रहेका गीतमा हरि लम्सालकै संगीत रहेको छ।
चलचित्रको मुख्य आकर्षणमध्ये एक हो– दिव्यदेव पन्तले निर्वाह गरेको बुवाको भूमिका । परिवारको खुसीका लागि आफ्ना रहर र चाहना त्याग गर्ने एक साधारण बुवाको असाधारण यात्रालाई उनले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।त्यस्तै, झरना थापा आमाको भूमिकामा देखिएकी छन् भने सुहाना थापाले छोरीको भूमिका निर्वाह गरेकी छन् । सागर खनाल र सुप्रज्ञा शर्माले छोरा–बुहारीको भूमिकामा पारिवारिक सम्बन्धका भावना र उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन् ।
चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मासहित शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुंगाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको छ । चर्चित अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।करिब २ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको चलचित्रको छायांकन काठमाडौं र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र पनौतीमा गरिएको हो ।
झन्डै दुई दशकदेखि अमेरिकामा बस्दै आएका बसन्त लम्साल व्यवसायसँगै गीतकार, संगीतकार र गायकका रूपमा पनि परिचित छन् । समाजसेवा र सिर्जनात्मक क्षेत्रमा सक्रिय लम्सालको चलचित्र यात्राको दोस्रो अध्यायका रूपमा ‘बा एक योद्धा’ दर्शकमाझ आउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?