२१ श्रावण,२०८२ : रविन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार सहयोग गर्ने भएको छ। पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्रलाई गाउँपालिकाले सम्मान स्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग घोषणा गरेको हो।

एमएमए फाइटर रविन्द्र ढाँटले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका थिए। भारतको नोएडामा शनिवार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा बनाउन सफल भएका हुन्। त्यस्तै बझाङकै अर्को स्थानीय तह तलकोट गाउँपालिकाबाट पनि रु एक लाख सहित सम्मान कार्यक्रम घोषणा गरिएको बझाङकै स्थानीय लोकेन्द्र बोहरा परिवर्तनले जानकारी दिए ।

ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो, जहाँ उनले आठ खेल जितेका छन्। उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्। दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनशिप (एनडब्लुसी) का संस्थापक पनि हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?