२९ श्रावण,२०८२ः नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई फर्सिट एफसीले अनुबन्ध गरेको हो । २७ वर्षीय अनन्तले पछिल्लो समय विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भारतमा १३४औं डुरान्ड कप खेलेका थिए। तर, जितविहीन हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको थियो।
यो उनको तेस्रो विदेशी क्लब हो । उनले यसअघि मार्बेला युनाइटेड र इस्ट बंगालबाट खेलिसकेका छन्। एन्फा एकेडेमीका उत्पादन रहेका अनन्तले थ्री स्टार र चर्च ब्वाइजस्ता क्लबाट घरेलु लिग खेलेका छन्।उनले आफ्नो कप्तानीमा ललितपुर सिटी एफसीलाई ब्याक टू ब्याक नेपाल सुपर लिगको उपाधि दिलाएका थिए। यस्तै, चर्च ब्वाइजलाई पनि पहिलो सिजनमै ए डिभिजन लिगको उपाधि दिलाएका थिए।

यस सिजन बंगलादेशको लिगमा आबद्द हुने उनी चौथो नेपाली खेलाडी हुन्। यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरिसकेको छ। डिफेन्डर अभिषेक लिम्बूलाइ रहमतगञ्ज एमएफएसले अनुबन्ध गरेको छ । किरण र आयुष ढाका पुगिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?