१४ श्रावण,२०८२ : सुदूरपश्चिम प्रदेशका अग्रज खेलक्रमी सुरेश हमालको निधन भएको छ । कैलालीको भजनी नगरपालिका स्थायी ठेगाना भइ लामो समयदेखि धनगढीमै बस्दै आएका हमालको भारतको राममुर्ती मेडिकल कलेज भोजीपूरामा बुधबार मृत्य भएको परिवारजनले जानकारी गराएका छन । दुवै मृर्गौलाले काम गर्न थाडेपछि प्रत्यारोपणको तयारीमा जुटिरहेका बेला बुधबार हमालको मृत्यु भएको हो ।

हमाल सुदूरपश्चिम प्रदेशमा फुटबल गोल्डकपका सुरुवातकर्ता हुन्। सुदूरपश्चिममै पहिलोपटक उनी अध्यक्ष रहेको सुदूरपश्चिम ११ स्पोट्स क्लबले कैलालीको धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गरेको थियो। उक्त प्रतियोगिताका छ वटा संस्करण आयोजना भइसकेको छ ।

०७३ सालअघि नेपालको सुदूर पुर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बर्सेनि गोल्डकप फुटबलहरु सञ्चालन हुँदै आइरहेको थियो। तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन ।

०७३ सालमा पहिलोपटक हमालकै अगुवाइमा धनगढीमा गोल्डकप आयोजना भएको थियो। मनाङ मस्याङ्दी क्लबले पहिलो संकरणको उपाधिमा कब्जा जमाएको थियो। सो संस्करणमा नेपालका १० र भारतका २ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

हमालले आफ्नो पारिवारिक जिम्मेवारीलाई पछाडि राखेर खेलकुदमा लगानी गर्दै आएक थिए। उनले सुदूरपश्चिम ११ स्पोट्र्स क्लब मार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने काम हमालले गर्दै आएका थिए ।

सुरेश सानो उमेरदेखि नै फुटबलका पारखी थिए। तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिएका थिए । उनले थुप्रै राष्ट्रियस्तरका तेक्वान्दोका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका थिए। सोही क्रममा उनले राखेपबाट ०५३ सालमा तेक्वान्दो प्रशिक्षकका रुपमा स्थायी नियुक्ति पाएका थिए । दुई वर्ष तेक्वान्दो प्रशिक्षण गराएपछि सरुवा घरबाट टाढा हुने भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए। तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनीमा हिमालय फुटबल क्लबको स्थापना गरेका थिए । कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरेका थिए।

हमालको निधनले सुदूरपश्चिमको खेल क्षेत्रमा ठुलो क्षति पुगेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव दीपक सिंह बताउँछन् । हमाल खेलकुदको क्षेत्रमा निकै लगनशिल व्यक्ति हुनुहुन्थ्यो, सिंहले भने, केही गरौं भन्ने हुटहुटी थियो उहाँमा, खेलकर्मीलाई समस्या पर्दा सहयोगका लागि सबैभन्दा अगाडि उहाँ नै आउनुहुन्थ्यो। त्यस्तो व्यक्ति सुदूरपश्चिमले फेरि पाउने आश नै छैन । सिंहका अनुसार हमाल खेल क्षेत्रको विकास लागि तन, मन र धन दिएर लाग्ने व्यक्ति थिए । सुदूरपश्चिममा फुटबलको क्रेज देखाउन हमालले संघिय मन्त्रीदेखि लिएर एन्फाका तत्कालिन अध्यक्ष, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई पालैपालो प्रमुख अतिथि बनाएर गोल्डकपमा आमन्त्रण गरेका थिए । उनै हमाले सुदूरपश्चिम गोल्डकप मात्रै भित्र्याएनन यस क्षेत्रका दर्जनौं खेलाडीलाई देशका विभिन्न भागमा सञ्चालन भएका गोल्डकप खेल्ने अवसर समेत सिर्जना गरे ।

हमालसँग निकट रहेका धनगढीका रोशन चौधरी भन्छन सुरेश दाई जस्तो फुटबलका लागि मरिहत्ते गर्ने मान्छे आफूले नभेटेको बताउँछन । उनी भन्छन दाईलाई जहिले भेट्दा सुदूरपश्चिमको फुटबलको विकास कसरी गर्ने भनेरै चिन्तित हुनुहथ्यो,सातौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गर्न तयारी पनि गरिरहनभएको थियो तर एक्कासी बिरामीले च्याप्दै गयो र आज एक्कासी दुखद खबर सुन्नुपर्यो अत्यन्तै दुख लागेको छ ।

कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले हमालको निधनले फुटबल क्षेत्रमा निकै ठुलो क्षति पुगाएको बताए । हमालका एक छोरा र एक छोरी छन् ।
तस्वीरहरु सुदूरपश्चिम खप्तड गोल्डकपको फेसबुक पेजबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?