ओमानमा जारी आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले कुवेतलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।

उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको पारी खेलेका हुन् । टी–२० आईमा कुशलको यो १२औँ अर्धशतक हो । अलराउन्डर गुलशन झाले आक्रामक ब्याटिङ गरे । उनले ७ बलमा तीन छक्कासहित २० रन बनाए ।
यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले सर्वाधिक दुई/दुई विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल र कुवेत पहिलो म्याच खेलिरहेका हुन् । हालसम्म नेपाल र कुवेतबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि तीनपटक सामना भएको छ, जसमा नेपालले दुई खेल जितेको र कुवेतले एक खेल आफ्नो पक्षमा पारेको छ ।
जारी विश्वकप छनोटमा आजै भएको पहिलो खेलमा आयोजक ओमानले सामोआलाई पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा यूएईले कतारविरुद्ध ७ विकेटको सहज जित निकाल्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?