You are currently viewing विनोद भण्डारीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जीत

विनोद भण्डारीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जीत

विनोद भण्डारीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्समाथि ७ विकेटको शानदार जित हात पारेको छ। जारी सिजनमा सुदूरपश्चिमको यो लगार चाैथो जित हो। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्सले दिएको १४४ रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात राम्रो हुन सकेन। टोलीले १० रनको स्कोरमा जोस ब्राउन (९ रन) र ३९ रनको स्कोरमा क्रिस लिन (१६ रन) लाई गुमाएको थियो। सुरुवाती ५ ओभर भित्रै दुई मुख्य विदेशी खेलाडी आउट भएपछि टोली केही दबाबमा आएको थियो।

तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका अनुभवी खेलाडी विनोद भण्डारी र आरिफ शेखले इनिङ्स सम्हाले। यी दुईबीच तेस्रो विकेटका लागि ९९ रनको म्याच–विनिङ साझेदारी भयो। विनोद भण्डारीले ४९ बलको सामना गर्दै अविजित ६९ रन बनाए। उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे।उनलाई आरिफ शेखले राम्रो साथ दिए। जितको नजिक पुगेर आउट भएका आरिफले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए।अन्त्यमा हर्मित सिंहले ३ बलमा १ छक्कासहित ७ रन बनाएर खेल टुंग्याए।

लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यान, अभिषेस गौतम र तिलक भण्डारीले १–१ विकेट लिए पनि सुदूरपश्चिमको रन गति रोक्न सकेनन्।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभर पनि पूरै खेल्न सकेन। टोली १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन मा समेटियो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने दिलीप नाथले ३१ रनको योगदान दिए। ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८–१८ रन बनाए। तर, मध्यक्रम र तल्लो क्रमका ब्याटरहरू चल्न नसक्दा लुम्बिनीले ठूलो योगफल खडा गर्न सकेन।

लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गरे। हर्मित सिंह र अविनाश बोहरा ले समान ३–३ विकेट लिए। हर्मितले ३.४ ओभरमा २२ रन र अविनाशले ४ ओभरमा २६ रन खर्चे। त्यस्तै, हेमन्त धामीले २ विकेट हात पारे।यो जितसँगै सुदूरपश्चिम रोयल्सले अंक तालिकामा शीर्ष स्थान कायमै राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply