असार १८,धनगढी / डिल्लीराज ओझा : सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु१९ महिला टि२० क्रिकेट प्रतियोगीतामा घर्लु टोली कैलालीलाई स्तब्ध पादैै डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोश्रो सेमिफाइनलमा डडेल्धुराले उपाधि दाबेदार ठानिएको कैलालीलाई ७४ रनले पराजित गर्दै फाइनलको टिकट पक्का गरेको हो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बैतडीलाई पराजित गर्दै कञ्चनपुर अपराजित बन्दै फाइनल पुगिसकेको छ ।

डडेल्धुराले दिएको ११७ रनको मध्यम लक्ष्य पछ्याएको कैलाली ११ ओभरमा मात्र ४२ रन बनाएर अलआउट भयो । कैलालीका लागि कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन । कैलालीले बनाएको ४२ रन मध्ये १३ रन अतिरित्त खातामा जोडिएको थियो । डडेल्धुराका लागि मनिषा खत्री एक्लैले ४ विकेट चट्काइन । हिरा साउँदले २ विकेट हात पारिन भने रेजिना जाग्रीले १ विकेट लिइन ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११६ रन जोडेको थियो । डडेल्धुराका लागि कप्तान रबिना धामीले अविजित २३ रनको पारी खेलिन । त्यस्तै सञ्जु साउँद र सुनिता साउँदले समान २०/ २० रन,निशा कठायतले अविजित १९ तथा जयन्ती भण्डारीले १४ रन बनाइन । कैलालीका लागि रचना बोहरा र इरांशा चौधरीले समान एक एक विकेट लिइन ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीताको फाइनल खेल असार १९ गते अर्थात भोली हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी थिए । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख ,तेश्रो र चौथो भएको टिमले नगद पचाु पचास हजार र विधागत रुपमा उत्कृष्ट चुनिएका खेलाडीहरुले पनि नगद पुरस्कार प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का रबिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?