५भाद्र,२०८२ः डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा दुई सय वटा योजना पूरा गरेको छ । गत आवमा गरेका योजना र बजेटको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै नगरपालिकाले सो योजनामा ५५ करोड १६ लाख रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले जानकारी दिए । उनका अनुसार ५६ करोड ५६ लाख रकम प्राप्त भएकोमा एक करोड १४ लाख रुपियाँ खर्च भएन । प्रतिशतका हिसाबले ९५ प्रतिशत बजेट खर्च भएको उनले बताए ।
गत आवमा नगरपालिकाका महत्वपूर्ण योजनामा अमरगढी नगरपालिका–७ को उग्रतारा माविमा नमुना पूर्वाधारका योजना सम्पन्न, ऐतिहासिक अमरगढी किल्लामा पर्खाल र पक्की बाटो निर्माण, सजावटमा ऐतिहासिक क्षेत्रका पेन्टिङ, वडा नं. ७ र ९ मा वडा कार्यालय निर्माण, वडा नं. ६ को छचोडागाउँ जाने सडक कालोपत्रेको सुरुवात र वडा नं. १ को मालमगाउँ जाने सडक पनि कालोपत्रेको सुरुवात भएको उनले जानकारी दिए ।
सङ्घीय सरकारले नगरपालिकाभित्र गरिरहेका ठुला भौतिक पूर्वाधार निर्माणका योजनामा डकले बसपार्क निर्माणका लागि सुरुवात, फोहोरमैला व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयबाट जग्गा खरिद गरेर ८३ करोड रकमको ठेक्का र खलङ्गा–टुँडिखेल सडक कालोपत्रेको काम जारी रहेको, बागबजारमा ३० कोठे सिटी हल निर्माण अन्तिम चरणमा, चीन सरकारको बिआरआई योजना अन्तर्गत आधुनिक भव्य सिटी हल निर्माणका लागि प्रक्रिया अघि बढेको र व्यवस्थित खेल मैदानका लागि मैदान खोदाइको काम भएको उनले बताए । उनका अनुसार विगतका वर्षमा आएको बेरुजु सम्प्रेषण गरिएको छ । बेरुजु रकम ५४ लाखमध्ये १७ लाख सम्प्रेषण गरिएको छ । विभिन्न कारणवश देखिने बेरुजु सम्प्रेषण गर्न सकिने भएकाले आवश्यक प्रक्रिया पु¥याई बेरुजु सम्प्रेषण गरिएको उनको भनाइ थियो ।
नगरपालिकामा बेरुजु बढ्दै गएको, गाउँबस्ती जोड्न सडक हिलाम्मे हुँदा आवतजावत गर्न कठिनाइ भइरहेको, फोहोर व्यवस्थापन हुन नसकेको, छाडा पशुचौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटना बढेको, शैक्षिक नतिजा माथि उठ्न नसकेको, जिल्ला सदरमुकामको सडक विस्तार हुन नसकेको, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको विदेश भ्रमण मोह, प्रमुखको क्वाटर भए पनि आफ्नै भाइको घर भाडामा लिई बसेको भन्दै नगरवासीले जवाफ माग गरेका थिए । आवश्यक बजेट अभावमा सडकमा ग्राभेल गर्न नसकिएको र प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख डिल्लीराज जोशीले जवाफ दिए । फोहोर व्यस्थापनका लागि टेन्डर भए पनि स्थानीयले विरोध गरिरहेकाले काम गर्न केही असहज भएको उनको भनाइ थियो । बागबजार–कीर्तिपुर सडक विस्तारका लागि डेढ अर्ब रकम बराबर माग गरिएको भए पनि ८० करोड पहिलो चरणमा प्राप्त हुने आश्वासन पाएको र भदौ महिनामा टेन्डर आह्वान गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?