१५श्रावण,२०८२ः आईसीसी महिला टी–२० विश्वकप २०२६ को छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई आउँदो वर्षको जनवरी १२ देखि १६ सम्म हुने महिला टी–२० विश्वकप छनोटको आयोजक घोषणा गरेको हो । छनोटमा चार स्थानका लागि १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा १० टोलीलाई पाँच÷पाँच वटाको दुई समूहमा विभाजन गरिनेछ, त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतियोगिताको खेल तालिका पछि सार्वजनिक हुनेछ ।

सन् २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बङ्गलादेश र आयरल्यान्डले छनोटमा स्वतः स्थान हासिल गरेका छन् । नेपाल र थाइल्यान्ड एशिया क्षेत्रबाट छनोट हुँदा अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । बाँकी पाँच ठाउँ अफ्रिका र युरोपबाट दुई÷दुई टोली र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट एक टोलीले आ–आफ्नो क्षेत्रीय छनोट पूरा गरेपछि पूरा हुनेछ । १०औं संस्करणको महिला टी–२० विश्वकप अर्को वर्षको जुन १२ देखि जुलाई ५ सम्म इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?