२३ श्रावण,२०८२ःसुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा एक हजारभन्दा बढी बिरामीलाई निःशुल्कमा रगत उपलब्ध गराएको छ ।
प्रदेश सरकारले एक हजार १८७ जना बिरामीलाई दुई हजार १४८ पिन्ट रगत निःशुल्कमा उपलब्ध गराएको हो । सरकारी अस्पतालमा उपचार गराउने प्रदेशवासीलाई सरकारले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमार्फत निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ ।
यसैगरी, रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा तथा असहाय लक्षित पोषण कार्यक्रम अन्तर्गत पोषण सामग्री आपूर्ति गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो । एक वर्षको अवधिमा ४८ जना महिलाको आङ खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ । अछामको बयलपाटा अस्पतालमा शल्यक्रिया गरिएको थियो । जसमध्ये एक जनाको क्यान्सर रोगको पहिचान भइ उपचार भइरहेको प्रदेश सरकारले जानकारी दिएको छ ।

यसैगरी, एक वर्षको अवधिमा एक लाख ४६ हजार ६१२ बालिकामा पाठेघर मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ । यस्तै, अटिज्म रोग पहिचानका लागि २८९ जनाको परीक्षण गरिएको र आठ जना बालबालिकाको शल्यक्रिया गरिएको छ । स्वास्थ्य निर्देशनालयमार्फत एआई प्रविधिद्वारा क्षयरोगका बिरामी पत्ता लगाउन चेकजाँच, परीक्षण गरिएको छ । २२ हजार जनाको परीक्षण गर्दा एक हजार ५०० जनामा सम्भावित क्षयरोग र १५२ जनामा क्षयरोग पुष्टि भएको प्रदेश सरकारले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।
प्रदेश सरकारले आर्थिक रुपले विपन्न नागरिकको आर्थिक सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई एक लाख रुपियाँको दरले सहायता गरेको छ । जसमा क्यान्सरका ४९३, मिर्गौला प्रत्यारोपणका १९, मस्तिस्क घातका १२, स्पाइनल सर्जरीका ४३, मुटु शल्यक्रियाका ६६ र बोनम्यारो प्रत्यारोपणका एक जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?